काठमाडौं– सांसदहरुले मुलुकभरका बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत र विस्थापित परिवारलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन सकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले बाढीपहिरोमा परी मृत्यु भएकालाई राहत र विस्थापितको पुनस्थापनामा सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मुल्यवृद्धि नियन्त्रण, राजधानीको सडक सुधार, महिला हिंसाका दोषीलाई कारवाही लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा आफ्नो धारण राख्दै सत्या पहाडीले जाजरकोट लगायतका जिल्लामा बर्षाका कारण आएको बाढी पहिरोले मानवीय र भौतिक क्षति भएको भन्दै मृतक परिवारलाई राहत र विस्तापित परिवारको उचित बसोबासको व्यवस्था गर्न माग गरे ।
सांसद सरला कुमारी यादवले रौतहटमा बर्षासँगै स्थानीय बागमति र बकैया नदीले तटबन्ध भत्काउदा मानववस्ती डुबानमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै सांसद लक्ष्मी परियारले संसदीय व्यवस्थामा प्रतिपक्षीको भुमिकामाथि प्रहार हुनुको साथै दुई तिहाईको दम्भले नागरिकको अधिकार हनन भएको र लोकतन्त्र मासिने खतरा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
शान्ता चौधरी दाङको घोराईमा निर्माणाधिन पुलहरुको काम बर्षौ भईसक्दा पनि आधा काम पनि नभएको भन्दै समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
शान्तिमाया तामाङ पाख्रिनले दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि १० प्रतिशत शेयर खुल्नु राम्रो कुरा भएपनि प्रारम्भीक लागत बढेको बारेमा सत्य तथ्य जानकारी गराउन माग गरिन् ।
अर्की सांसद सत्य नारायण शर्मा खनालले दैनिक उपभोग्य सामानको मुल्यवृद्धि नियन्त्रण र सडक सुधारमा सरकारले ध्यान नदिएको भन्दै सडकको अवस्था सुधार गरी मुल्यवृद्धि नियन्त्रण गर्न सरकारसंग माग गरे ।
समीना हुसेनले महिला हिंसा न्युनिकरणका लागि सरकारले के गर्देछ सदनलाई जानकारी गराउन माग गरे ।
सांसद सरिता कुमारी गिरी जन्मसिद्ध नेपाली नागरिकका परिवारले नागरिकता नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरवत आरा खानमले कंचनपुरकी निर्मला पन्तको हत्याको घटना नसेलाउदै बाँके भत्तेपुरमा थारु समुदायकी १२ बर्षिया बालिका बलात्कृत भएको भन्दै दोषिर्ला सरकारले कहिले कारवाही गर्छ भनी प्रश्न गरे ।
उनले महिलामाथि अपमानजनक अभिव्यक्तिदिने दुर्गा प्रसाद प्रसाईलाई कारवाही किन भएन भनि प्रश्न गरे ।
सांसद संजयकुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्र भित्र रहेका ७ सय २ जना बन्यजन्ज्तु पीडीतलाई अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।






