काठमाडौं– नेकपाकी सांसद् निरुदेवी पाललाई कुनै व्यक्तिले कञ्चटमा पेस्तोल तेर्साएको विषय एकाएक भाइरल बन्यो । मंगलबार साँझ मध्यवानेश्वरस्थित डेरा नजिकै सांसद पाललाई पेस्तोल तेर्साएर मोबाइल लुटिएको विषय बुधबारको संसदीय सुनवाई समितिको बैठकमा जानकारी गराएपछि मात्रै बाहिर आयो ।
एकजना माननीयलाई वानेश्वरजस्तो व्यस्त र सुरक्षित स्थानमा पेस्तोल ताक्ने व्यक्ति को थियो ? कुन उद्देश्यले सांसद पाललाई पेस्तोल ताकिएको थियो, प्रश्न र घटना गम्भीर मात्रै होइन, कताकता संकास्पद जस्तो पनि देखिन्छ ।
संसदीय सुनुवाई समितिमा सांसद पालले दिएको बयानलाई मान्ने हो भने उनलाई भोलि (मंगलबारको घटना भएकाले बुधबार)को सुनुवाई समितिको बैठकमा नजान दबाब र धम्की दिइएको थियो । ‘यदी बुधबारको बैठकमा गइस् भने तेरो बाउले पनि तलाई बचाउन सक्दैन’ भन्दै उनीलाई धम्की दिइएको दाबी गरिएको छ ।
तर मंगलबार साँझ घटना भएपनि सांसद पालले यसको जानकारी प्रहरीलाई दिइनन् । वानेश्वर प्रहरी वृत्त वा महानगरीय प्रहरी परिसर वा अपराध महाशाखा कतै पनि यो घटनाको जानकारी र उजुरी छैन । प्रहरीले पनि यस घटनाबारे सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको बताएको छ ।
प्रहरीको १०० नम्बर पाललाई थाहा छैन ?
एकजना सांसदजस्तो व्यक्तिको दायित्व यस्तो घटना वा दुर्घटना भएलगत्तै सो को जानकारी प्रहरीलाई गराउनु हो । तर सांसद पालले सो को जानकारी प्रहरीलाई दिइनन् । उनले आफ्नो मोबाइल पनि लुटिएको जानकारी दिएकी छिन् । तर सांसद पालले न त उक्त मोबाइलको आईएमइआई नम्बर प्रहरीलाई उपलब्ध गराएकी छिन्, न त मोबाइल लुटिएको बारे अन्य उजुरी नै । मोबाइल लुटिएपनि उनले घरमा पुगेपछि अन्य व्यक्तिको नम्बरबाट प्रहरीलाई खबर गर्न सक्थिन्, तर सांसद पालले त्यो किन किन गरिनन् ?
नेपाल प्रहरीले पैसा नलाग्ने १०० नम्बरको हण्टिङ लाइन सञ्चालनमा ल्याएको धेरै वर्ष भइसक्यो । सामान्य नागरिक त के बालबालिकाले पनि कुनै घटना, दुर्घटना वा अपराध भएमा प्रहरीको १०० नम्बरमा फोन लगाएर त्यसको जानकारी गराउँछन् । तर सांसदजस्तो व्यक्तिलाई प्रहरीको १०० नम्बरको हण्टिङ लाइन जानकारीमा नआएको कि फोन गर्न नचाहेको ? नचाहेको भए किन र के कारणले नचाहेको ? यसबारेमा गम्भीर प्रश्न र शंका गर्न थालिएका छन् ।
पिएसओको आवश्यकताका लागि फण्डा !
सांसद निरु पालले मंगलबार उक्त घटना भएको बताएलगत्तै बुधबार बिहानैबाट पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) लिएर हिँड्न थालेकी छिन् । तर त्यसबारेको औपचारिक जानकारी बुधबार अपरान्ह मात्रै सञ्चारमाध्यमलाई दिइयो । सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पत्रकारहरुलाई सांसद पालको पेस्तोल काण्डबारे जानकारी दिएपछिमात्रै घटना सार्वजनिक भयो ।
तर घटनाको प्रकृति र घटनाक्रम हेर्दा ‘पेस्तोल प्रकरण’ लाई दुईवटा कोणबाट विश्लेषण गर्न सकिन्छ । पहिलो सांसद पाललाई चाहिएको सुरक्षाकर्मी । सामान्य सांसदले आफूलाई सुरक्षाकर्मी चाहियो भन्नका लागि आफूलाई सुरक्षा खतरा महसुस भएको वा रहेको पुष्टी गर्नुपर्ने हुनसक्छ । तर सांसद पालसँग सुरक्षा खतराबारे जुटाउने प्रमाण केही थिएन । कुनै न कुनै घटना नभई पिएसओ माग गर्नु सायद सांसद पालले उचित ठानिनन् र उनले पेस्तोल प्रकरणको फण्डा निकालेर आफ्ना लागि सुरक्षाकर्मीको व्यवस्था गराइन् ।
जोशी प्रकरणलाई डाइभर्ट गर्ने डिजाइन ?
यतिबेला कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने कि नगर्ने भनेर संसदीय सुनुवाई चलिरहेको छ । जोशीको शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी उठिरहेका छन् । यस्तो अवस्थामा जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने कि नगर्ने भन्नेमा पक्ष र विपक्षमा सांसदहरु उभिएका छन् ।
संसदीय सुनुवाई समितिले जोशीलाई अस्वीकृत गरेमा सरकार र संसदले न्यायलयमाथि हस्तक्षेप गरेको आरोप पनि लाग्न सक्छ । यस्तो अवस्थामा संसद र विभिन्न जगतलाई जवाफसमेत दिनुपर्ने हुनसक्छ । यस्तो अवस्थामा कुनै नयाँ फण्डा निकालेर जोशीलाई आउट गर्न सकियो भने सहज बाटो बन्न सक्थ्यो ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशीकै विषयलाई लिएर सांसद निरु पालमाथि पेस्तोल तेर्साएको फण्डा बनाएमा यो प्रकरणमा सुनुवाई समितिलाई सहज हुनसक्छ । अझ यो घटनालाई जोशी वा जोशी मातहतका निकायले गुण्डा परिचालन गरी धम्काएको मिडियाबाजी गर्न पाएमा जोशीलाई गलत देखाउन अझै सजिलो हुनसक्थ्यो । प्रधानन्यायाधीश बन्न आपराधिक समूहसँग मिलेमतो गरेको आरोप लगाउन पनि सहज हुन्छ । र, जोशीलाई रिङबाट आउट गर्न सहज हुन्छ भन्ने मनोवृत्तिले पनि काम गरेको अनुमान गर्न थालिएको छ ।
प्रहरीलाई घटना भएको २० घण्टासम्म पनि जानकारी नहुनु र बिहिबार मध्यान्हसम्म पनि औपचारिक उजुरी नआउनुले घटनाको सत्यतामाथि धेरै शंका गर्न थालिएको छ । प्रहरीवृत्तमा पनि सांसद पालले ‘फण्डा’ मात्रै गरेको चर्चा चल्न थालेको छ ।
त्यसो त सांसद पाल यसअघि पनि पटकपटक विवादमा परेकी थिइन् । सांसद पालमाथि मानव तस्करीको आरोप लागेको थियो । युवासंघमै रहँदा विभिन्न फण्डा निकालेर चर्चामा आइरहने र विभिन्न हर्कत गरिरहने उनको शैली थियो ।
त्यसैकारण पेस्तोल प्रकरण पनि पिएसओको आवश्यकता, जोशी प्रकरणलाई डाइभर्ट गर्ने कोशिश र चर्चामा आउने उद्देश्यबाट रचिएको फण्डा मात्रै हुनसक्छ । यद्यपी पालले आफूलाई धम्की आएको भन्दै बिहिबार संसदलाई जानकारी गराइसकेकी छिन् । यसबारे प्रहरीले छानबिन गरिरहेको बताएकाले यथार्थ बाहिर आउने नै छ ।
संसदमा पालले भनिन्
सांसद पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा आफुलाई पेस्तोल देखाएर तर्साउने काम भएको दाबीसहित सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसंग माग गरिन् ।
प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले समग्र मुलुकभरको सुरक्षा चुनौतिलाई देखाएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
पेस्तोल देखाउदैमा आफू नडराउने भन्दै उनले भनिन्, “निरुपाल लाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले धम्कीने वाला छैन । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहुदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जीन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउदैमा डराउने मान्छे म होइन । ”






