लण्डन । एनआरएन यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषदको पहिलो भेला सोमबार सम्पन्न भएको छ । स्कटल्याण्डको काउडेनबीचस्थित नमस्ते सिम्ला रेष्टुरेन्टको हलमा सम्पन्न भेलाबाट पूरा हुन नसकेको तदर्थ समितिको गठन कार्य भने एनआरएन यूके केन्द्रीय समितिको सहभागितामा छिट्टै सम्पन्न गरिने भएको छ ।
परिषदको संयोजकका लागि ३ जनासंगै सिंगो १३ सदस्यीय कार्यसमितिका लागि कुल २१ जनाको उम्मेदवारी परेको थियो । सहमति जुटाउनको लागि राती अबेरसम्म धेरै कोशिसहरु गरिएपनि मुख्यतः संयोजक पदका लागि उम्मेदवारी दिएका भोला खनाल, यज्ञमुर्ति ढकाल र मोहन कार्की आआफ्नो उम्मेदवारीबाट पछि नहटेपछि सहमतिको प्रयास विफल बनेको थियोे ।
उम्मेदवारहरुबीच सहमति निर्माणको प्रयासका लागि एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपाने, उपाध्यक्ष प्रेम गाहा मगर र महासचिव आरके त्रिपाठी सम्मिलित एक विवाद समाधान उपसमिति गठन गरिएको थियो । सो समितिले उम्मेदवार तथा स्थानीय अग्रजहरुसंगको छलफल तथा समन्वयपछि सबै २१ जना उम्मेदवार अट्ने गरी नयां कार्यसमितिका लागि सिफारिस गर्दै एनआरएन यूकेमा एक प्रस्ताव पठाएको छ ।
अब सो प्रस्तावमाथि एनआरएन यूकेको कार्यसमिति र संरक्षक परिषदभित्र छलफल गरेर स्कटल्याण्ड राज्य समन्वय परिषदको तदर्थ समिति घोषणा गरिने एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपानेले जानकारी दिए । तदर्थ समिति गठनको शिलशिलामा विशेष परिस्थिति सिर्जना भएकाले भेलामा उपस्थित एनआरएन आइसिसी तथा यूके एनसिसीका पदाधिकारी, सदस्य, स्कटल्याण्डस्थित नेपाली समुदाय र संघसंस्थाका प्रतिनिधी, सल्लाहकारहरु लगायतसंग व्यापक छलफल र विमर्श गरेर विवाद समाधान उपसमितिको निर्देशनमा संस्थाको विधानअनुसार समितिमा काम गर्न ईच्छा जाहेर गर्ने सबैलाई समटेर एक तदर्थ समितिको प्रस्ताव एनआरएन यूकेमा पठाइएको छ, एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपानेले भने, सो प्रस्तावमा एनआरएन यूके कार्यसमितिबाट निर्णय भएर आएपछि तत्काल स्कटल्याण्ड राज्य समन्वय परिषदको तदर्थ समितिको घोषणा गरिनेछ ।
एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले कार्यसमितिमा प्राप्त प्रस्तावका विषयमा संरक्षक परिषदका सदस्यहरु समेतसंग आवश्यक परामर्श गरेर कार्यसमितिबाट टुंगो लगाइने जानकारी दिए । यसअघि तदर्थ समिति गठनका लागि एनआरएन यूकेका सल्लाहकार डा राम अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको थियो ।
भेलामा उत्साहजनक सहभागिता यसअघि स्कटल्याण्ड राज्य समन्वय परिषदको भेलामा स्कटल्याण्डवासी नेपालीको उत्साहपुर्ण सहभागिता देखिएको थियो । स्कटल्याण्डको एडिनबरा, ग्लास्गो, एबरडिनसहितका विभिन्न क्षेत्रमा बसोबास गर्ने सयौंको संख्याका नेपालीहरु भेलामा सहभागी बनेका थिए । कार्यक्रमका सभापति तथा राज्य समन्वय विभागका संयोजक ललितकुमार न्यौपाने र विशिष्ट अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले पानसमा दीप बालेर भेलाको उद्घाटन गरेका थिए । कार्यक्रमका अतिथीहरुको स्वागतका लागि नौली शैलीस्वरुप पञ्चकन्याले गुलाबको फूल प्रदान गरेका थिए भने स्थानीय दियो क्लबले पञ्चेबाजाको आकर्षक प्रस्तुति गरेको थियो । राज्य समन्वय विभागका सचिव डा मुकुन्द बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा स्कटल्यान्ड भेला संयोजक तिलक भट्टराईले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले विदेशमा बस्ने नेपालीहरुले देशबाहिर पनि नेपाललाई बचाइराख्ने कार्य गरेको बताए । विश्वका ७८ वटा देशमा एनआरएनको सञ्जाल पुगिसकेको उल्लेख गर्दै उपाध्यक्ष आचार्यले एनआरएन विदेशका नेपालीहरुलाई मातृभुमिसंग जोड्ने माध्यम समेत बनेको धारणा राखे । स्कटल्याण्डमा राज्य समन्वय परिषद गठन हुन लागेकोमा स्कटल्याण्डबासी नेपालीहरुलाई बधाई ज्ञापन गर्दे उनले यसबाट एनआरएनको अभियान थप बलियो बन्ने आशा व्यक्त गरे ।
एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले स्कटल्याण्डमा राज्य समन्वय परिषद गठन भएपछि एनआरएन यूकेको क्षेत्रीय अवधारणाले सार्थकता पाउने बताए । स्कटल्याण्ड रमज्य समन्वय परिषदले संस्थाको लक्ष्यअनुसार उपलब्धी हासिल गराउनेतर्फ सक्रिय र महत्वपुर्ण योगदान दिने विश्वास अध्यक्ष फगामीले व्यक्त गरे । एनआरएन यूके उपाध्यक्ष तथा राज्य समन्वय परिषद संयोजक ललितकुमार न्यौपानेले स्कटल्याण्ड समन्वय परिषदको पहिलो ऐतिहासिक भेला भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
एनआरएन यूके उपाध्यक्ष शेर सुनारले स्कटल्याण्डबासी नेपालीहरुलाई एनआरएनको सदस्यताका लागि आव्हान गर्दै संस्थाभित्रै बसेर यो अभियानलाई शसक्त पार्न अपील गरे । अर्का उपाध्यक्ष प्रेम गाहा मगरले एनआरएनको कार्यकारी समितिमा आउनेहरुले संस्थाको लागि समय छुट्याउन आवश्यक रहने भन्दै पदको लागि मात्र आकर्षित नहुन आग्रह गरे । एनआरएन यूके महासचिव त्रिपाठीले स्कटल्याण्डमा राज्य परिषद गठनसंगै गैरआवासीय नेपालीहरुको विश्वव्यापी अभियानमा यहांका नेपालीहरुको पनि सहभागिता सुनिश्चित बनेको बताए ।
एनआरएन एक परोपकारी अभियान रहेको उल्लेख गर्दै त्रिपाठीले निस्वार्थ भावना बोकेर मात्र संस्थामा आउनुपर्ने विचार व्यक्त गरे । भेलामा नेपालका चर्चित पत्रकार दिलभुषण पाठक, एनआरएन यूके सल्लाहकार दयानिधी सापकोटा, वेल्स राज्य समन्वय परिषद अध्यक्ष रामचन्द्र पोख्रेल, नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष लिलाराम निउरे, एनआरएन आयरल्याण्डका अध्यक्ष नवराज कोइराला, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, एनआरएन यूके सल्लाहकार नारायण कंडेल, उर्जाविज्ञ विश्वनाथ कंडेल लगायतले शुभकामना मन्तव्य राख्दै नवगठित स्कटल्याण्ड राज्य समन्वय परिषदको सफलताको कामना गरेका थिए ।
भेलामा सहभागी हुन एनआरएन यूकेका उपमहासचिव विनय अधिकारी, सचिव तारानाथ भण्डारी, धर्म विभाग संयोजक होमनाथ पौडेल लगायत पनि स्कटल्याण्ड पुगेका थिए । कार्यक्रममा सुमन भट्टराई, प्रविणा खनाल, सारिका खत्री र अनुस्का खत्रीले मौलिक धिमे नृत्य देखाएका थिए ।
त्यसैगरि, माया खरेल, प्रतिक्षा शर्मा , अञ्जली चापागाई, आकृति खराल, कृष्णा भण्डारी, किरण पोखरेल, ३ वर्षीया एञ्जिला खरेल लगायतका स्थानीय कलाकांरले विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।
दिवाकर पाण्डले आफ्नो कलात्मक क्यारिकेचर प्रदर्शन गरेर उपस्थित सबैको मन जितेका थिए । एनआरएन यूकेले नर्दन आयरल्याण्ड र वेल्समा यसअघि नै राज्य समन्वय परिषद गठन गरिसकेको छ
भिडियोमा हेर्नुस लन्डन नेपाल न्यूज डटकमका लागि प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको एक स्थलगत रिपोर्ट :
https://www.facebook.com/londonnepalnews/videos/1719440534841134/














