लण्डन दूतावासमा नेपाली क्रिकेट टोलीलाई यसरी गरियो’स्वागत [भिडियो सहित]

लण्डन । लण्डनको लर्ड्समा खेल्न बेलायत आएको नेपाली क्रिकेट टोलीलाई लण्डनस्थित नेपाली दूतावासले स्वागत तथा सम्मान गरेको छ । मंगलबार सांझ दूतावासमा एक रिसेप्सन आयोजना गरेर खेलाडीहरुलाई सममान गरिएको थियो । कार्यक्रममा खेलाडी र प्रशिक्षकहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपालको चिनारी अब सगरमाथा र गौतम बुद्धले मात्र नभएर क्रिकेटले समेत विश्वमाझ बनाएको धारणा व्यक्त गरे ।

जुलाई २९ मा लण्डनको लर्ड्समा हुने नेपालीको खेल हेर्न उपस्थित भएर नेपाली खेलाडीहरुको हौसला बढाउन बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आव्हान गरे । प्रमुख अतिथी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया पुनले लर्ड्समा हुने खेलमा सफलताको लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिइन् ।

बेलायत र नेपालबीचको दुई सय वर्ष लामो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै मन्त्री थापाले गोर्खाहरुले बेलायतका लागि पुर्याएको योगदानका कारण यो सम्बन्धल अझ बढि मजबुत भएको धारणा राखिन् । नेपालमा संवधान निर्माण र तीन तहको सरकार स्थापनाको प्रक्रिया पूरा भएसंगै अब आर्थिक विकास र समृद्धिको अभियान सुरु भएको भन्दै उनले यो लक्ष्य प्राप्तिको लागि देश तथा देशबाहिर रहेका सम्पुर्ण नेपालीहरुको साथ आवश्यक रहेको बताइन् ।

सांसद डा सुर्य पाठकले क्रिकेटमार्फत नेपाललाई विश्वमा चिनाउन भुमिका गर्ने नेपाली क्रिकेटरहरुप्रति आभार प्रकट गरे । देशको आर्थिक समृद्धिको अभियानमा सहयोग र सहभागिताका लागि उनले बेलायतबासी नेपालीहरुसमक्ष आग्रह पनि गरे ।

नेपालका लागि बेलायतका पूर्व राजदूत एन्ड्यू स्पार्कसले क्रिकेटको माध्यमबाट पनि बेलायत र नेपालबीचको सम्बन्ध थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

एमसिसीका क्रिकेट प्रमुख जोन स्टेफन्सनले नेपालको क्रिकेट विकासका लागि सहयोग गर्न एमसिसी ईच्छुक रहेको जनाए । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले जुलाई २९ को खेल हेर्न लर्ड्समा उपस्थित भइदिन बेलायतबासी नेपालीहरुलाई आग्रह गरे ।

दूतावासका उपप्रमुख शरदराज आरनले सञ्चालन गरेको कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रममा कलाकारहरु सपनकुमार राई र सरु थापाले गीत प्रस्तुत गरेका थिए ।

भिडियोमा हेर्नुस लन्डन नेपाल न्यूज डटकमका लागि प्रधान सम्पादक शिब भण्डारीले तयार पारेको एक स्थलगत रिपोर्ट-

https://www.facebook.com/londonnepalnews/videos/1721525784632609/