बलात्कारीको कुटेर हत्या

बलात्कार आरोपमा जेलमा रहेका एक व्यक्तिलाई भारतको नागाल्याण्डमा स्थानीयले कुटेर हत्या गरेका छन् । स्थानीयको भिडले असामका व्यापारी फरिद खानलाई दिमापुर जेलबाट बाहिर निकालेर हत्या गरेको हो । कलेजका विद्यार्थीहरुसहित करिब १० हजार जनाको समूहले जेलको फलामे ढोका फोडेर खानलाई बाहिर निकालेको र कुटेर हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार घिसार्दै बाहिर निकालेर हत्या गरेपछि स्थानीयले शवलाई झुण्ड्याइदिएका थिए । खानलाई नागाल्याण्डको एक कलेजमा पढ्ने महिलालाई पटक–पटक बलात्कार गरेको अभियोग लागेको थियो । गत फेब्रुअरी २३ तारिखमा बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएको थियो । बलात्कारको घटना सार्बजनिक भएपछि सुबेको राजधानी दिमापुरमा गत बुधबारदेखि स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए ।