सभामुख महाराले भने, ‘अहिले संसदमा अधिनायकवाद छ जस्तो लाग्दैन’

काठमाडौं– सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ समिति १५ सदस्यीय बनाउने तयारी भैरहेको बताएका छन् । आज आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी दिएका हुन् । सभामुख महराले सुनुवाई समितिको एक दुई दिनमै टुंगो लाग्ने समेत बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सभामुख महराले भने,‘राष्ट्रिय मान्यता प्राप्त ४ दल छन्, त्यसमध्येबाट समितिमा राखिनेछ । साना दललाई पनि राख्ने प्रयास गरिनेछ तर साना दललाई राख्ने सम्भावना देखिएको छैन ।’
सभामुख महराले सुनुवाई समितिका लागि चारवटै दलबाट सदस्यहरूको नाम आइसकेको समेत स्पष्ट पारे । पछिल्लो समय संसदले बिजनेश नपाएको र कानुनका विधेयकहरू पेस गर्न दलहरूलाई आग्रह गर्र्दै उनले संसदका विभिन्न समितिहरू चाँडै बनाउन पनि आग्रह गरे ।

प्रतिपक्षी दलले राष्ट्रपति र उपराष्टपतिमध्ये एउटा र सभामुख र उपसभामुखमध्ये एउटा माग गरिरहेको छ, त्यो सवालमा के गर्नुहुन्छ नि ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले आफू अहिले कुनै पार्टीमा नरहेकोले आफुले छाड्नु पर्ने कुनै आवश्यकता नरहेको प्रतिकृया दिए ।

त्यसो त यो विषय आदालतमा विचाराधीन छ, त्यसमा अहिले टिप्पणी गरिरहनु पर्ने आवश्यकता नरहेको पनि उनले बताए । मन्त्रिपरिषदमा आठवटा विधेयक रहेका र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती विद्येयक चाँडै पठाइदिन आग्रह गरे उनले तत्काल पठाउन सक्ने समेत उनले प्रतिकृया दिए । उनले भने, ‘प्रधानमन्त्रीले त भोली नै पठाउछु भन्नुभएको छ ।’

प्रतिनिधिसभा र राष्ट्रियसभाले कुनै पनि कार्यक्रम गर्दा सरकारबाट सहयोगले लिएर गर्ने बताउँदै उनले सरकारले वैदेशिक सहयोगबाट गरोस् या आफ्नै स्रोतबाट त्योसँग सरोकार नरहेको समेत स्पष्ट पारे ।
सभामुख महराले संसदमा अहिले अधिनायकवाद नभएको समेत स्पष्ट पारे । उनले भने, ‘संसदमा अहिले अधिनायकवाद छैन पछि के हुन्छ थाहा छैन ।’

सत्तापक्ष र प्रतिपक्ष दुवै दललाई संसदमा मिलेर बस्न समेत उनले आग्रह गरे । उनले भने, ‘म दुवै दलको समन्वय गर्छु, अहिले संसदमा अधिनायकवाद छ जस्तो लाग्दैन ।’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र सरकारमा अधिनायकवादका संकेत देखिदै गएको आरोप लगारहेका बेला सभामुख महराले सो जवाफ दिएका हुन् ।