पार्टी बैठक सकिने वित्तिकै प्रधानमन्त्री भेट्न बालुवाटार हिँडे प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठक सकिनेवित्तिकै प्रचण्ड बालुवाटारतर्फ लागेका हुन् ।

माओवादी नेता देवेन्द्र पौडेलका अनुसार प्रदेश प्रमुख नियुक्ति प्रदेश मुकाम तोक्ने लगायतका विषयमा प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्नेछन् ।

‘प्रदेश राजधानी संवेदनशील विषय हो । अस्थायी भएपनि विवाद र थप तनाव नहुने गरी तोक्नु पर्छ भन्ने पार्टीको निर्णय रहेको छ’, पौडेलले भने । सोहि विषय प्रचण्डले प्रधानमन्त्रीसाग छलफल गर्नेछन् ।

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

प्रदेश सभा सदस्यको सपथ ग्रहण प्रदेश प्रमुखले गराउने संविधानमा उल्लेख छ । सोहि अनुसार देउवाले विपक्षीसहितका नेताहरुसँग पनि छलफल गर्न लागेको बताइएको छ ।
सामान्यतः प्रदेश प्रमुखमा राजनीतिक नियुक्ति गर्ने चलन छ ।