काठमाडौँ- सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तिय छल निरोधसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्न स्विकृति पनि प्रदान गरेको छ ।
मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अरव ६ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ । यूरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने पनि सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।
त्यसैगरी बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धि निर्देशिका पनि स्विकृत गरिएको छ ।
मन्त्रीपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।






