बेलायतका नेपाली एकाउन्टेन्टहरुको संस्था जन्मियो

लण्डन । बेलायतमा क्रियाशिल नेपाली एकाउन्टेन्टहरुले नयां स्थापना गरेका छन् । आइतबार लण्डनको साउथ ह्यारोमा सम्पन्न भेलाले नेप्लिज एकाउन्टेन्टस् यूके नामक संस्था जन्माएको हो । भेलाले सरोज सापकोटाको संयोजकत्वमा एक ९ सदस्यीय कोअर्डिनेसन समिति पनि निर्वाचित गरेको छ । सो समितिका अन्य सबै पदमा सर्वसम्मति भएपनि संयोजक र सचिवका लागि भने निर्वाचन नै गर्नुपरेको थियो । हुन त बेलायतमा यसअघि पनि सन् २००७ ताका नेप्लिज एकाउन्टेन्ट्स एशोसिएसन नामको नेपाली एकाउन्टेन्टहरुको संस्था खोलिएको रहेछ । अहिले निश्क्रियजस्तै बनेको उक्त संस्थालाई निरन्तरता दिने कि नयां संस्था खोल्ने भन्ने विषयमा मत विभाजन गर्दै भेलाले नयां संस्था स्थापना गर्ने निर्णय गरेको थियो ।

एशोसिएसनले बेलायतमा क्रियाशील नेपाली प्रोफेसनलहरुलाई संगठित गर्दै उनीहरुको करियर विकास तथा क्षमता अभिबृद्धीका लागि सहयोग गर्ने, उनीहरुबीचको सम्बन्ध र सहकार्य बढाउने साथै एकाउण्टिङ्गसंग सम्बन्धित बेलायती निकायहरुसंग सम्बन्ध विस्तार गर्ने लगायतका लक्ष्य लिएको बताइएको छ । त्यस्तै, नेपालको लागि समेत स्किल ट्रान्सफर गराउने , नेपाल सरकारलाई एकाउण्टिङ्गसंग सम्बन्धी विषयहरुमा परामर्श उपलब्ध गराउने, बेलायतमा पढाइ पूरा गरेका एसीसीएहरुलाई नेपालमा पनि पूर्ण मान्यता दिलाउन पहल गर्ने लगायतका लक्ष्य अघि सारेर संस्था स्थापना गरिएको छ ।

 

संस्था स्थापनाको लागि बोलाइएको भेलामा बेलायतमा एकाउन्टिङको क्षेत्रमा काम गर्दै आएका झण्डै ९० जना सहभागी थिए । भेलाको पहिलो सत्रमा उनीहरुले संस्थाको नाम, उद्धेश्य, संचालन विधी तथा संरचना, सदस्यता वितरण लगायतका कैयौं बुंदाहरुमा खुला छलफल गरेका थिए । दोस्रो सत्रमा जब नेतृत्व चयनको विषयले भेलामा प्रवेश पायो, माहोलमा तापक्रम केहि थपिएको थियो ।

भेलामा उपस्थित कतिपय सहभागीले धेरै पदहरु सिर्जना गरेर बांड्नु भन्दा १ जना संयोजक र अरु सबै सँध्ँरण्ँ सदस्यकै रुपमा रहेर संस्थाका लागि काम गर्दा उदाहरणीय सुरुआत हुने मत राखेका थिए । तर निकैबेरको छलफलपछि अन्त्यमा १ संयोजक, १ उपसंयोजक, १ सचिव, १ कोषाध्यक्ष र विभिन्न ५ विषयत सहसंयोजकहरु राख्ने सहमति बनेको थियो । पदहरु के कति राख्नेमा सहमति बनेपनि ती पदहरुमा को को बस्ने भन्नेमा भने सहमति हुन सकेको थिएन । ९ सदस्यीय कोअर्डिनेसन समितिमा अरु सबै पदमा सहमति बनेपनि संयोजक र सचिवका लागि निर्वाचन नै गर्नुपरेको थियो ।

संस्था जन्मिन नपाउंदै यसको नेतृत्वका लागि सहमति बन्न नसकेर निर्वाचनको स्थितिमा पुग्दा भेलाका सहभागी कतिपय एकाउन्टेन्टहरुले भने यसबाट राम्रो सन्देश नजाने भन्दै चिन्ता पोखेका थिए । नाम उल्लेख गर्न नचाहने एक सहभागीले भने, संस्था स्थापना हुनै पाएको छैन, नेतृत्वमा को बस्ने भनेर हानथाप सुरु भइसकेको छ । पेशागत संस्था हो, यसमा आबद्ध हुनु राम्रो होला भनेर आउने हामी जस्ता सामान्य सदस्यले पद र कुर्सीको यस्तो लडाई देख्दा संस्थाले लक्ष्यअनुसार राम्रो काम गर्ला भनेर आशा गर्ने ठाउं पाएका छैनौं ।

भेलाको संयोजन गर्नेमध्येका एक समिरनाथ प्याकुरेलले सहमतिको लागि प्रयास विफल भएपछि निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको बताए । हामीले सहमति गराउने प्रयास त गरेकै हौं, तर कुरा मिल्न सकेन । नेतृत्वको आकांक्षा राख्ने हक सबैलाई हुने नै भयो । त्यसैले उत्तम विकल्पको रुपमा निर्वाचनमा जानुपरेको हो, प्याकुरेलले भने । बेलायतमा एकाउन्टिङ क्षेत्रमा कार्यरत नेपालीहरुलाई संगठित र एकजुट गर्ने यो अभियानमा सक्रिय भुमिका खेलेका विज्ञान प्रसाईंले संस्थाको नेतृत्वमा को, कसरी आउनुभन्दा पनि कुन उद्धेश्य र अवधारणामा  संस्था स्थ्ाँपना भएको छ भन्ने विषय बढि महत्वपुर्ण हुने बताए ।