काठमाडौं, फाल्गुन २० । एक दिवसिय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । न्युजिल्याण्डको नेपियरमा अहिले भईरहेको खेलमा पाकिस्तानले युनाईटेड अरब ईमीरेट्स युएईलाई ३ सय ४० रनको विजय लक्ष्य दिएको छ । खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३९ रन बनायो । पाकिस्तानको लागि अहमेद शेहजादले ९३ रन, ह्यारीस सोहेलले ७० रन तथा मिसवाह उल हकले ६५ रनको योगदान दिए ।
यसैगरी सोएब मक्सुदले ४५ रन जोडेभने शादिह अफ्रिदीले ७ बलमा अविजित २१ रन बनाए । बलीङतर्फ युएईका मन्जुला गुरुगेले ४ विकेट लिए । विश्वकपमा समुह बी बाट क्वाटरफाईनल पुग्ने संभावना जिवित राख्न पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाब छ ।
सुरुवाती दुई खेलमा भारत र वेष्ट इंडीजसँग पराजित पाकिस्तानले तेस्रो खेलमा भने जिम्बाबेलाई हराएको थियो । उता यएईले प्रतियोगितामा अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन । समुहमा लगातार तीन खेल जितेको भारत ६ अंकसहित शिर्ष स्थानमा रहँदा ४ मध्ये तीन खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । दुई दुई खेल जितेका वेष्ट इण्डिज र आयरल्याण्ड तथा एक खेल मात्रै जितेको जिम्बाबे पनि पाकिस्तानभन्दा अघि छ ।
आजै अष्ट्रेलियाको पर्थमा हुने खेलमा घरेलु टोली अष्ट्रेलियाले अफ्गानिस्तानको सामना गर्नेछ । पहिलो खेल जितेको अष्ट्रेलियाले बंगलादेशसँगको दोस्रो खेल अवरुद्ध भएपछि अंक बाँड्न बाध्य भयो । तेस्रो खेलमा न्युजिल्याण्डसँग पराजित भएपछि त अष्ट्रेलिया झनै दबाबमा रहेको छ । उता अफ्गानिस्तान जारी विश्वकपमा दोस्रो जितको खोजीमा छ । सुरुवाती दुई खेल हारेको आफ्गानिस्तनले तेस्रो खेलमा भने अर्को एसोशिएट टोली स्कटल्याण्डलाई हराएको हो ।
समुह ए मा हालसम्म ४ खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड शिर्ष स्थान ओगट्दै क्वाटरफाईनलमा प्रवेश गरीसकेको छ । ४ खेलबाट ६ अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ भने ३-३ अंक जोडेका बंगलादेश र अष्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । २ अंक जोडेको अफ्गानिस्तान भने पाँचौं स्थानमा छ ।
युएईलाई ३ सय ४० रनको लक्ष्य






