गणेश थापा भ्रष्टाचारी प्रमाणित, १० वर्ष प्रतिबन्ध, १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवाना

गणेश थापा प्रतिबन्धितकाठमाडौं-खेलमिलोमतो, आन्तरिक विवाद र लगातार कमजोर नतिजाका कारण नेपाली फुटबलको छवि धमिलिएकै बेला फिफाले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा दसवर्षे प्रतिबन्ध लगाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले चार वर्षको अनुसन्धानपछि एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्षसमेत रहेका एन्फा अध्यक्ष थापामाथि यस्तो प्रतिबन्ध लगाएको हो । थापा राप्रपा नेपालका सभासद हुन् ।

२०५२ सालदेखि निरन्तर एन्फा अध्यक्षका रूपमा नेपाली फुटबललाई नेतृत्व गरिरहेका थापा फिफाबाट आफूमाथि अनुसन्धान भइरहेको अवस्थामा गत वर्ष कात्तिकमा तीन महिना पदबाट अलग भएका थिए । देशभित्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले तत्कालीन प्रथम उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाएर थापा थप तीन महिना पदबाट बाहिर रहेका थिए । जेठ अन्त्यमा श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि थापा पदमा फर्किएका थिए ।

फिफाको इथिक्स कमिटीले सन् २००९ र २०११ मा भएको फिफा कार्यसमिति निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम घुसका रूपमा लिएको बताएको छ । ‘लामो समय नेपाली फुटबलको नेतृत्व गर्ने क्रममा थापाले व्यक्तिगत र पारिवारिक रूपमा ठूलो रकम अन्य देशका फुटबल अधिकारीसँग लिएको खुलेको छ,’ थापामाथि कारबाहीको निर्णय सार्वजनिक गर्दै फिफाले भनेको छ ।

इथिक्स कमिटीको न्यायिक विभागले थापामाथि प्रतिबन्धका साथै १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवानाको पनि निर्णय गरेको छ ।

अघिल्लो महिना मात्र अन्तर्राष्ट्रिय खेलमा आर्थिक प्रलोभनमा परी मिलोमतो गरेको अभियोगमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई र गोलकिपर रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडीद्वय अञ्जन केसी र विकाससिंह क्षेत्रीलाई पक्राउ गरेर विशेष अदालतमा मुद्दा चलाएको थियो । अदालतले गत साता सबै खेलाडीलाई धरौटीमा रिहा गरेको छ ।

फिफाबाट भ्रष्टाचार अभियोगमा दोषी देखाइएका एन्फा अध्यक्ष थापाले आफू निर्दोष रहेको दाबी गरेका छन् । सोमबारै विज्ञप्ति जारी गर्दै थापाले ‘फिफाको प्रक्रियाअनुसार अपिल गर्ने र आवश्यक परे कोर्ट अफ आर्बिटेसन (कास) सम्म जाने’ बताएका छन् ।

‘मैले आज बिहान मात्र फिफा इथिक्स कमिटीबाट आफूमाथि प्रतिबन्ध लागेको विषयमा जानकारी पाएँ । यो निर्णयले मलाई निराश पारेको छ । यो निर्णय न्यायोचित छैन,’ थापाले विज्ञप्तिमा भनेका छन्, ‘मैले पछिल्लो चार वर्ष अनुसन्धानका क्रममा फिफालाई पूरा सहयोग गरेको थिएँ । म फिफासँग यसको पूरा कारण माग्छु । त्यसपछि आफ्नो निर्दोष साबित गर्न फिफा र आवश्यक परे काससम्म जान्छु ।’

इथिक्स कमिटीले लाओस फुटबल संघका अध्यक्ष भिफेट सिहाचाक्रमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । सिहाचाक्रमाथि २०११ को फिफा कार्यसमिति निर्वाचनक्रममा घुस लिएको अभियोगमा कारबाही गरिएको हो ।

भ्रष्टाचारको अभियोगमा आजीवन प्रतिबन्ध भोगिरहेका एएफसीका पूर्वअध्यक्ष मोहम्मद बिन हमामसँग थापाले १ लाख डलर लिएको २०१२ को जुनमा सार्वजनिक भएको थियो । हमाममाथि फिफाले अनुसन्धान गर्ने क्रममा एएफसीमा कार्यरत थापापुत्र गौरवको खातामा हमामले १ लाख डलर हालिदिएको खुलेपछि थापा पनि अनुसन्धानको घेरामा परेका थिए । अनुसन्धानका क्रममा थापाले २०१० मै हमामसँग थप १ लाख १५ हजार पाउन्ड पनि लिएको गत वर्ष असारमा खुलेको थियो । थापा स्वयंले व्यक्तिगत सम्बन्धका आधारमा उक्त रकम हमामसँग लिएको स्विकारेका थिए । ‘यो नितान्त साथीको सम्बन्धका आधारमा भएको व्यक्तिगत कारोबार हो । यसको फुटबलसँग कुनै सम्बन्ध छैन,’ थापाले भन्ने गरेका थिए ।

एन्फाका दुई उपाध्यक्ष कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर तथा सदस्य पंकजविक्रम नेम्वाङले थापाविरुद्ध आन्दोलन सुरु गरेपछि देशभित्र पनि उनी संकटमा परेका थिए । शेर्पा नेतृत्वको विद्रोही समूहले थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय खेलकुद परिषद र सम्पत्ति शुद्धीकरण विभागमा भ्रष्टाचारको अभियोगमा कारबाहीका लागि निवेदन दिएका थिए । सार्वजनिक लेखा समितिले गत वर्ष असोज १३ गते ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै थापामाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अख्तियारलाई निर्देशन दिएको थियो । तर, अख्तियारले त्यही वर्ष फागुन ६ गते थापाविरुद्धको मुद्दा तामेलीमा राख्दै उनलाई एन्फा फर्कने बाटो खुला गरेको थियो ।