चितवन- नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्तामाथि राज्यका तर्फबाट भएको धरपकड बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
नेकपाका चितवन जिल्लाका इन्चार्ज लालबहादुर वीसीले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताको गिरफ्तारी र झुठामुद्धा लगाउने काम भइरहेको भन्दै राज्यको दमन र गिरफ्तारीले आन्दोलन कमजोर नभई स्पातीलो बन्ने दावी गरेका छन् ।
विज्ञप्तिमा कथित लोकतान्त्रिक गणतन्त्रको नाममा राज्य र संसदवादी दलहरुले लुटतन्त्र,कमिशनखोर र भ्रष्टाचारको पक्षपोषण गरिहेको भन्दै दैनिक उपभोग्य बस्तुमा भएको महंगी र कालाबजारिया, स्थानीय निकायले गरेको करवृद्धि, र आश्थाका आधारमा सरकार र दलहरुले गर्ने भेदभावको कारण जनताको जीवन कष्टकर बन्दै गएको उल्लेख छ ।
त्यस्तै चितवनमा केहीदिनदेखि राज्यको तर्फबाट संकटकाल भन्दा पनि बढी दमन, धरपकड र आश्थाका आधारमा गिरफ्तारी गर्ने काम भइरहेकाले मान्छेको हिँडडुल गर्न पाउने स्वतन्त्रता समेत हनन भएको नेकपाले जनाएको छ ।
विज्ञप्तिमा जेठ २५ गते फि बुझाउन हिडेका रत्ननगर नगर कमिटी इन्चार्ज रणदिप गौतमलाई सादा पोशाकका प्रहरीले गिरफतार गरेको, २६ गते बिरु तामाङ गिरफ्तार गरेको २७ गते रत्ननगर सेक्रेटरी गन्जुसिंह गुरुङलाइ, असार ४ गते कालिका नगरकमिटी इन्चार्ज रुद्र गुरुङ र असार ५ गते सहिद स्मृति कलेजबाट विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामिछानेलाई गिरफ्तार गरेर सबैलाई झुठ्ठा मुद्धा लगाएर प्रहरी हिरासतमा राखिएको नेकपाले जनाएको छ ।
‘आस्थाका आधारमा राज्यले गर्ने धरकपड दमन र गिरफ्तारीले हाम्रो आन्दोलन कमजोर हुदैन झन स्पातिलो बन्छ । अहिले गिरफ्तार गरिएका हाम्रा नेता कार्यकर्तालाई तुरुन्त रिहाइ गर्न र आश्थाका आधारमा गरिने खानतलास, धरकपड, दमन र गिरफ्तारी बन्द गर्न विनम्रतापुर्वक अनुरोध गर्दछौ’ जिल्लाक कमिटी चितवनले जनाएको छ । त्यस्तै उसले सरकारको यस्तै रवैया रहिरहे कडा आन्दोलनमा गर्न वाध्य हुने चेतावनी दिएको छ ।






