‘सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निर्वाचन गर्न मिल्दैन’

upendra yadav1
विराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताउनुभयो ।

आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उहाँले जेठ २ गतेदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार ग¥यो भने जनताले प्रतिकार गर्ने स्पष्ट पार्नुभयो ।

सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु भनेको सङ्घीयतालाई समाप्त पार्ने कार्य हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”

उहाँले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताउनुभयो ।