काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आगामी आर्थिक वर्ष भित्र सबै स्थानीय तह र सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याउने घोषणा गरे ।
सरकारी तथ्यांक अनुसार नेपालका १ सय ५० भन्दाबढि गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरु संचालनमा आउन सकेका छैनन् ।
मन्त्री बास्कोटाले सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।
आईतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशभरका सबै सामुदायिक विद्यालयहरुमा पनि इन्टरनेटको सेवा आगामी आर्थिक वर्ष भित्र संचालनमा ल्याउने तयारी गरिएको जानकारी दिए ।
नयाँ पुस्तालाई प्रविधिमा पहुँच पु¥याउन पनि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नुको विकल्प नरहेको मन्त्री बास्कोटाको भनाई छ ।
नेपालमा २९ हजार सामूदायिक विद्यालय रहेकोमा हाल ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध रहेको बताइएको छ ।
मन्त्री बास्कोटाले अव सबै सामूदायिक विद्यालयहरुमा इन्टरनेट सेवा संचालनमा ल्याइने बताए ।
त्यसका लागि सरकारसँग स्रोत र साधनको पर्याप्त व्यवस्था नभएपनि सहयोगी हात रहेको बताए ।






