नेपालमा अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधि सम्मेलन सुरु

काठमाडौं– नेपालमा अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधि सम्मेलन सुरु भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघको आयोजनामा ललितपुरमा आईतबारबाट २ दिने अन्तराष्ट्रिय सूचना तथा संचार प्र्रविधि सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उदघाटन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मुलुकको सुशासन र समृद्धिको दिशामा सम्मेलनले ठोस योगदान दिने विश्वास व्यक्त गरे । उनले सूचना र प्रविधिको क्षेत्रमा लगानी बढाएर मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पमा योगदान दिन पनि निजी क्षेत्रलाई आह्वान गरे ।

मन्त्री बास्कोटाले सरकारले सूचना तथा प्रविधिको क्षेत्रको विकासका लागि काम गर्ने आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धि अन्तराष्ट्रिय स्तरको सम्मेलन आयोजना गरिएको महासंघका सचिव नारायण थापाले जानकारी दिए ।

सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश र श्रीलंकाका सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत विज्ञहरुसहित १ सय ५० जनाभन्दा बढिको सहभागिता रहेको छ ।

सम्मेलनमा नेपालको स्थानीय तहका जनप्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको छ । स्मार्ट सिटी बनाउने अवधारण तय गरेका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मेलनमा सहभागी गरिइएको पनि महासंघले जनाएको छ ।