तमुधिं लण्डनको छैठौँ अधिवेशन सफलताका साथ प्लमस्टिड, लण्डन स्थित गेसो सभाहलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष क्या.रि. नारायण बहादुर गुरुङ, एमभिओको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई समाजका महासचिव सुमन गुरुङले शुरुमा सबैलाई स्वागत गर्दै सुरक्षा तथा स्वास्थ्यबारे कार्यक्रम अवधिभरि पालन गर्नका लागि जानकारी दिएका थिए साथै कार्यक्रमको सञ्चालन सफलतापूर्वक गरेका थिए ।
विधिवत कार्यक्रमलाई समाजका सबै महानुभावहरुको आसान ग्रहण पश्चात सभाध्यक्षद्वारा पानसमा द्वीप प्रज्वलन गरेर अधिवेशन प्रारम्भ गरिएको थियो । समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङले आफ्नो स्वागत मन्तव्य प्रकट गर्नेक्रममा सबैलाई स्वागत तथा आभार व्यक्त गर्दै दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनमा आफूले लामो समयदेखि उपाध्यक्षको हैसियतमा रहेर समाजका लागि जिम्मेवारी वहन गर्नेक्रममा आफूलाई सहयोग गरेका व्यक्तित्व तथा आमा समूहलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । उनले आफू अध्यक्षको दावेदार रहेतापनि अध्यक्ष पदका लागि प्रस्ताव पेश गरेका समाजका सल्लाहकार श्रीचन्द्र गुरुङलाई समर्थन गर्ने मन्तव्य प्रकट गरेका थिए । स्वागत मन्तव्य पछि समाजका वरिश्ठ सल्लाहकार मोहन गुरुङले आफ्नो छोटो मन्तव्यमा अधिवेशन सफलताका लागि शुभकामना दिएका थिए तथा सबै मिलेर समाजलाई सहि दिशा दिनुपर्ने विचार प्रकट गरेका थिए । मन्तव्य प्रकट गर्नेक्रम सकिए लगत्तै समाजका महासचिव सुमन गुरुङले आफ्नो कार्यकाल भरिका कार्यक्रमहरु बारे प्रकाश पारेका थिए ।






