हुम्ला, फाल्गुन १९ । हुम्लाको लिमीमा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ । गए रातीदेखि नदी थुनिएपछि पहिरो गएको स्थान भन्दा तलका बासिन्दाहरुमा त्रास फैलिएको छ भने उनीहरु घर छाडेर सुरक्षित स्थानतिर गईरहेका छन् । आसपासका गाविसका वासिन्दा पनि सुरक्षित स्थानतर्फ गईरहेको हुम्ला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले पनि स्थानीय वासिन्दालाई सुरक्षित स्थानततर्फ जान आग्रह गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए । पहिरो वा हिमपात के कारणले नदी थुनिएको भन्ने यकिन नभएपनि मध्य र सुदूर पश्चिमका दर्जन बढी गाविस यसबाट प्रभावित हुनसक्ने देखिएको पनि उनले बताए । थुनिएको पानी एक्कासी विष्फोट भयो भने मुगु, हुम्ला, कालिकोट, दैलेख, बाजुरा, सुर्खेत र बर्दियासम्म असर पुर्याउने खतरा रहने जनाइएको छ । नदी थुनिएपछि लिमी भन्दा तल पानीको वहाव निकै घटेको जनाइएको छ । लगातारको बर्षा र हिमपातले दुई दिनदेखि हुम्लाको जनजीवन कष्टकर बनेको छ ।
हिम पहिरोले कर्णाली थुनियो






