लन्डन । अमेरिकामा हुने एनआरएन विज्ञ सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ । अमेरिकामा आगामी जुन १६ र १७ मा हुने एनआरएनको सातौं साधारण सभा तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको जनाएको हो । अमेरिकाको क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटेल डलव ट्रिमा हुने विज्ञ सम्मेलनको लागि नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा सहभागि हुँदैछन् ।
स्किल्स नलेज एन्ड इनोभेसन सम्मेलन बिभिन्न देश र अमेरिकाका बिभिन्न क्षेत्रमा कार्यरत एक्पर्टहरुले कार्यपत्रहरु प्रस्तूत हुनेछ । एनआरएनएका पदाधिकारी तथा अमेरिका, क्यानडा तथा ब्राजिलमा कार्यरत नेपाली करिब ५ सय विज्ञहरुले सम्मेलनमा सहभागि हुने विज्ञ भेलाको संयोजक डिल्ली भट्टराईले जानकारी गराए ।
अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक यस्तो सम्मेलन गर्न लागिएको हो । अमेरिका क्षेत्र अन्तरगत एनआरएन चिली, एनआरएन ब्राजिल, एनआरएन क्यानडा र एनआरएन अमेरिका पर्दछन् । सम्मेलनमा सहभागी हुन नेपालबाट मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा व्यवसायीहरू जाने भएका छन् ।
साथै क्यालिफोर्नियाका कंगेसमेन रो खन्ना, अबैतनिक राजदतुहरु, नेपाल सरकारका राजदूत तथा बाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तिहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, राजनीतिज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका चुनौती र सफलताको बारेमा छलफल गर्नेछन् । पूर्वाधार बिस्तार, वातावरण स्वास्थ्यसेवा, अर्थनीति लगायत विभिन्न विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
विशेषगरी ५ वटा क्षेत्र छुट्याएर कार्यपत्र प्रस्तुत गरिनेछ । एनर्जी एण्ड इम्फ्रास्टक्चर, हेल्थ एण्ड मेडिसिन, साइन्स एण्ड टेक्नोलोजी, युथ इम्प्लोइमेन्ट उमेन इम्पावरमेन्ट एण्ड इन्टरपेनरसिप, पोलिसि फर गुड गभरनेन्स, इन्क्लुसिभ ग्रोथ, फिस्कल रिफर्म एण्ड इकोनोमिक ट्रान्सफर्मेसन एण्ड डिभलपमेन्ट लगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै बृहत् छलफल गर्नेछन् । त्यसपछि तयार भएको सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरुलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गरिने भन्नेबारे गृहकार्य गरिनेछ ।






