चार्ल्टन समाजको तीज कार्यक्रममा सुशीला र रमेशराजले तताउने

मन्जु भण्डारी
लन्डन– हिन्दू नारीहरुको मुख्य पर्व तीज आउन महिना दिन बाँकी छँदै लन्डनमा तीज कार्यक्रम सुरु भइसकेको छ ।
 यसैबीच चार्ल्टन समाजको तीज कार्यक्रम अगस्ट २७ मा, विशेष सांगीतिक कार्यक्रम सहित हुने भएको छ ।
लोकदोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल गुल्मेली गायिका सुशिला गौतम तथा गायक रमेशराज भट्टराईले चार्ल्टन समाजको तीज कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्
स्थानीय मेरिडियन स्पोर्ट्स क्लबको हलमा दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रम साँझसम्म चल्ने बताइएको छ । कार्यक्रममा प्रवेश शुल्क १२ पाउण्ड लाग्नेछ भने बालबालिकाको लागि मात्र ५ पाउण्ड बनाइएको छ ।
कार्यक्रमलाई सांगीतिक माहोल बनाउन डिजे हेम विष्टको प्रस्तुति रहनेछ  त्यसअवसरमा महिला दिदीबहिनीहरुको लागि विशेष दरको व्यवस्था पनि गरिनेछ । अध्यक्ष कँडेलले कार्यक्रम बैंक होलिडेको दिन परेकाले बढी सहभागिता रहने अपेक्षा गरेका छन् । 
यसैबीच चाल्र्टन समाजले आगामी ३० सेप्टेम्बरमा अधिवेशन आह्वान गरेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशनका लागि होम शर्मा संयोजक तथा मोतीराज भण्डारी, सुरज केसी, गंगा खरेल र डाशुराम पाण्डे सदस्य रहेको निर्वाचन कमिटी गठन गरेको छ । अध्यक्ष कँडेलले समाजको सदस्यता नविकरण गर्न अपिल समेत गरेका छन् ।