अनिल खत्री
२५ जेठ, गुल्मी । गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । निर्माण कार्य सुरु भएको झण्डै १२ वर्ष पछि शुक्रबार तारा एअरको विमानले धुले परीक्षण उडान गरेको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा शुक्रवार तारा एअरको नाइन वान अल्फा किलोइको साइनको विमानले परीक्षण उडान गरेको थियो । परीक्षण उडानका लागि पोखराबाट आएको तारा एअरको विमानमा चालक दलका सदस्य सहित ९ जनाको टोली सवार थिए ।
शुक्रबार अवतरण गरेको जहाजमा क्याप्टेनहरु सन्तोष शाह, प्रभाकरप्रसाद घिमिरे, डिआर निरौला, सब इन्जिनियर नारायण गिरी र पोखरा विमानस्थल प्रबन्धक निर्देशक भोला प्रसाद गुरागाँई सवार थिए । त्यस्तै जहाजमा सवार अन्यमा तारा एअर पोखरा म्यानेजर राम लामीछाने, फ्लाइट डिस्पोजर सुमन बराल, इञ्जीनियर रमित केसी र राजेन्द्र केसी थिए ।
शुक्रवार बिहान ९ बजेर ३० मिनेटका लागि परिक्षण उडानको सयम निर्धारण गरिएपनि मौसम प्रतिकुलताका कारण दिउँसो अपरान्न ४ बजे तिर मात्रै हवाई जहाज आउन सफल भएको थियो । परीक्षण उडान कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल नागरिक उड्यान प्राधिकरण प्रमुख सञ्जीव गौतम, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, उद्योग बाणिज्य संघ केन्द्रीय अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मेलीहरुको दशकौंको जहाज चढ्ने सपना पुरा भएको बताएका थिए ।
उनले गुल्मेलीहरु अब ४५ मिनेटमा गुल्मीबाट काठमाडौं पुग्न सक्ने बताए ।







