मलेसिया, १८ फागुन । वैदेशिक रोजगारको क्रममा पीडित बन्न पुगेकाहरुको उद्दारको लागि कम्तिमा १० करोड रुपैयाँको ‘पीडित कोष’ स्थापना गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले घोषणा गरेको छ । मलेसियामा भएको एनआरएनको कार्यक्रममा अध्यक्ष शेष घलेले पीडित कोष स्थापना गर्ने घोषणा गरेका हुन् । नेपालमा एनआरएनको भवन बनाउनको लागि सहयोग संकलनको लागि मलेसिया आइपुगेका घलेले भवन निर्माणको काम सुरु भएपछि पीडित कोषको लागि पहल थालिने बताए । उनले पीडित कोषमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारको क्रममा पीडित बन्न पुगेकाहरुको हितमा एनआरएनले काम सुरु गरेको घलेले बताए । नेपाल तथा सम्बन्धित देशको सरकारसँग समन्वय गरेर वैदेशिक रोजगारलाइृ मर्यादित बनाउन कोषले पुलको काम गर्ने घलेको भनाई थियो । उनले मलेसियामा रहेका एनआरएनहरुलाई मलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर मजदुरको हितमा काम गर्न समेत निर्देशन दिए । कोष स्थापना हुन सके मलेसिया लगायत अन्य देशमा पीडित बन्न पुगेका श्रमीकहरुले राहत पाउने मलेसियास्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले बताए ।
एनआरएनरको भवन निर्माणको लागि सहयोग जुटाउन गरिएको कार्यक्रममा एकै दिन ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मलेसियामा रहेका नेपालीहरु मध्ये खग्रेन्द्र न्यौपानेले सबैभन्दा बढि ५ लाख १० हजार रुपैयाँ सहयोग गरेका थिए । एनआरएनले काठमाडौंको बालुवाटारमा बनाउन लागेको भवनको लागि अहिलेसम्म १७ करोड रुपैयाँ बढि सहयोग संकलन गरिसकेको छ । भवन निर्माण गर्न २५ करोड रुपैयाँ लाग्ने बताइएको छ ।
वैदेशिक रोजगार पीडित कोष स्थापना हुने






