राजकुमार ह्यारी र मेगनको विवाह सम्पन्न

लन्डन। बेलायतका राजकुमार ह्यारी शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिएका छन् ।

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार)को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भए ।

वैवाहिक समारोह भएको दरबारबाहिर हजारौं दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुसी साटासाट गरेका थिए ।

उनीहरूको विवाहलाई टेलिभिजनमार्फत् गरिएको प्रत्यक्ष प्रसारणलाई विश्वभर विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औंठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिसप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए । यसलाई एउटा ऐतिहासिक घटनाकारूपमा लिइएको छ ।