बसमा कसैले सुम्सुम्याउन खोज्यो ?

काठमाडाैं,  १७ फागुन – ‘सिट नपाएपछि उभिएकी थिएँ पछाडीबाट ठेलेर मेरो छातीमा छुन खोज्यो’ कीर्तिपुरकी लक्ष्मी बाँसकोटा सार्वजनिक गाडीमा यात्रा गर्दा आफुले भोगेको दुव्र्यवहार सम्झदा पनि झस्कनु हुन्छ । अझ गाडीमै चडेका अर्का पुरुषले ‘दुई मिनेट लाग्छ गाडीबाट ओर्ल’ भनेको प्रसंगलाई सम्झदा निक्कै आत्तिनु हुन्छ ।

कीर्तिपुरकी बाँसकोटा त उदाहरण मात्र हो । यस्तो घटना दैनिक रुपमा भैरहेको हुन्छ । कतिले अरुसँग साट्छन् त कतिले लुकाउँछन् । यस्तो घटना फेरि नदोरियोस भनेर आफै सजक हुनु आवश्यक छ । यस्तो दुर्व्यवहार गर्नेबाट कसरी जोगिन सकिन्छ त ?

विशेषगरी सार्वजनिक गाडीमा हुने भिडका कारण नै दुव्र्यवहारको सिकार हुने गरेको धेरैको अनुभव छ । यस्तो दुव्र्यवहार गर्ने व्यक्तिले एकैपल्ट तपाईंलाई आक्रमण गर्ने सोच भने बनाएको हुँदैछ । उसले बिस्तारै बिस्तारै आँट बढाउदै जाने भएकाले तपाईंले पहिलो तहमै उसलाई रोक्न सक्ने उपाय हामीसँग छन् ।

१) मौन प्रतिकार
तपाईंलाई कसैले दुव्र्यवहार गर्न खोजेको शंका लागेमा तपाईले त्यसको मौन जवाफ दिनुपर्छ । कसरी दिने मौन जवाफ भन्ने लागेको होला ? कुनै गाह्रो छैन । तपाईले गाडीमा उभिने तरिका परिवर्तन गर्नुपर्छ । सामान्यतया कुनै पनि व्यक्तिले जानीजानी तपाईसँग टाँसिएर संवेदनशिल अंग छुन खोज्नु नै यौन हिंसा हो । त्यसैले उसँगको दुरी बढाउन तपाईले ध्यान दिनुपर्छ ।
*    त्यसको लागि उभिंदा आप्mनो हात अलिकति खुम्चाएर माथिको डण्डा समाउनुपर्छ ।
*    प्रायः हामीले सिधा हात गरेर डण्डा समाउँछौ, तर खुम्चाएर समाउँदा अलिकति भएपनि दायरा बनाउन हामी सफल हुन्छाै ।
*    अर्को हात कम्मरमा राख्ने कुहिना चुच्चो हुने गरी । यसले तपाईंको छेउमा उभिएको व्यक्तिसँग दुरी बनाउन सहयोग गर्छ ।
*    माथिको डण्डा समाउन नसक्नेले बसको सिटमा समाउन सक्नुहुन्छ । एउटा हातले आफुपनि थामिने गरी सिटमा समाउने अर्को हात कम्मरमा राख्ने जसकारण आफुसँगै रहेको व्यक्तिसँग दुरी बढोस् ।
*    साईड ब्याग बोक्नु राम्रो । विशेषगरी महिलाले बोल्ने झोला एउटा कुममा हुन्छ तर एउटा कुमबाट अर्को पट्टिको कम्मरमा पुगे, त्यो राम्रो हुन्छ ।
यति गर्दा उसले तपाईंको भाव बुझेर हट्न सक्छ । तर माथिका कुरा लागु गर्दा पनि उ पछि हटेन भने तपार्इं दोस्रो चरणमा जानुपर्छ ।

२) मौखिक आत्मरक्षा
मौखिक आत्मरक्षा भनेको मौखिक रुपमा आप्mनो रक्षा गर्नु हो । बोलीको माध्यमबाट तपाईंले आप्mनो बचाउ गर्दा आक्रमक नहुने बरु हक्कीपन हुनु जरुरी छ । आक्रामक हुँदा फैलाई घाटा हुन्छ । हक्कीपन हुँदा स्पष्ट कुरा गर्न सकिन्छ । ८० प्रतिशत कुराकानी हाउभाउकै आधारमा हुने भएकाले तपार्इंले आप्नो कुरा हाउभाउबाट राख्न सक्नुहुन्छ ।
आक्रामक भन्दा पनि शान्तिपूर्ण समाधान गर्ने । त्यसको लागि उसको
*    अपमान नगर्ने
*    चुनौती नदिने
*    धम्की नदिने
*    थाहा नपाएजस्तो नगर्ने
*    धेरै बेइज्जत नगरी उसलाई बहिर्गमनको अवस्था सिर्जना गर्ने

३) कानुनको सहयोग लिने
नेपालमा कुनै व्यक्तिले बलात्कार गर्न खोज्दा उसको ज्यान गएका सजाय नहुने कानुनमै उल्लेख छ । त्यसैले आफुलाई परेको समस्याबारे उजुरी गर्न सकिन्छ ।

४) हतियार
यदि मौन प्रतिकार र मौखिक आत्मरक्षाभन्दा बाहिर गएर हिंसा नै हुन लाग्यो भने हामीले दैनिक रुपमा बोक्ने गरेको सामानलाई प्रतिरक्षाको लागि प्रयोग गर्न पनि सक्छौ । साँचो, कलम, छाता, पत्रिका आदिको प्रयोगले आफुलाई बचाउन सकिन्छ ।

सबैभन्दा पहिला त यो अवस्था आउन नदिन हामी फै सजक भएर हिँड्नुपर्छ । सजक हुँदाहुँदै तपाई हिंसाको सिकार हुन लाग्नुभयो भने मात्र यी कुरा अपनाउन सकिन्छ ।

(परित्राण रिस्क म्यानेजमेन्टका स्ट्राटेजिक प्लानर एंव निर्देशक विक्रान्त राज पाण्डेसँग गरिएको कुराकानीको आधारमा । यो संस्थाले विभिन्न स्थानमा हुने यौन हिंसाबाट बच्न तालिम दिने गर्छ ।)