पुष्प थापा / देश बिकाशको लागी उद्धेश्य र कार्यक्रम सहित राष्ट्र र जनताप्रति ईमान्दारिता नभएका नेतृत्वहरु अब जनताको रोजाईमा पर्ने वातावरण समाप्त पारिनु जरुरी छ । जनताले गर्ने बिश्वासमा राजनीतिक पार्टीहरुले गरेको बिकासका गतिबिधि र राष्ट्रियताको लागी खेलेको प्रत्यक्ष भूमिकाले ठुलो महत्व राख्दछ।
आगामी दिनहरुमा मुलुकलाई समृद्धि बनाउन बिकासको कार्यमा भन्दा भाषण गरेर जनतालाई भुलाउने कामलाई जनताले साथ दिने छैनन् भन्ने आधार जनताको चेतनास्तरसंग जोडिएर आउछ । बिशेषत जनताको रोजाइमा विकासका कार्यक्रम र योजनाहरुलाई लिएर जनताको साथमा काधमा काध मिलाउने नेताहरु पर्दछन तर कतिपय अवस्थामा यसमा बिबिध प्रकारका अबरोधहरु देखिने गरेका छन् । त्यसको मूल जड चेतना, आर्थिक विपन्नता र डर त्रासको मानसिक अवस्थासंग सम्बन्धित रहेको छ।
बास्तबमा नेपाली जनतालाई राजनीतिक पार्टीको आयातित र निर्यातित “बाद” भन्दा पनि कुशल योग्य नेतृत्व र बिकास चाहिएको छ। नक्कली राष्ट्रबाद भन्दा स्वाभिमान तथा सार्बभौमिक राष्ट्रिय सम्मान र ईज्जत चाहिएको छ। पंचशिलको सिद्धान्तमा आधारित स्वतन्त्र र बराबरीको हैसियतको असंलग्न परराष्ट्र नीति नै नेपालको हितकर परराष्ट्र नीति हो जुन ब्यबहारमा देखिनेगरी लागु गर्नु पर्दछ। छिमेकी तथा अरु मित्र राष्ट्रसितको पारस्परिक सम्बन्धको सन्तुलित परराष्ट्र नीति नेपाली जनताको चाहना भएकोले कसैले बंग्याएर आँफुलाई मात्र कथित राष्ट्रबादी र अरुलाई अराष्ट्रिय तत्वको बिल्ला भिराउने कोशिसमा लाग्नु अस्थिरतालाई निमन्त्रणा दिनु हो, जसले कसैको हित गर्दैन । तीन करोड नेपालीको साझा मुलुकमा सबैको बराबरको हक, अधिकार र जिम्मेवारीलाई स्थापित गराउनु नै राज्यको मूल दायित्व हो। यसबाट भाग्ने वा अनेक कृत्रिम बहाना र बखेडा झिक्ने कुनै पनि झल्लु तथा हुइयाँ सरकारको प्रपंच कदापि सैह्य हुने छैन ।
नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको मुलुक हो। यहाँ हरेक गाउ,घर,सहर-बजारको समस्याहरुलाई केलाएर त्यहाँका बासिन्दाहरुले भोगी रहेको चुनौतीलाई समाधान गरी समृद्धिको दिशा दिन सक्ने नेतृत्व आज मुलुकको आवश्यकता हो। उत्तेजित भाषण,चर्का नारा र काल्पनिक कथा वा उखान टुक्काहरुको भरमा जनतालाई एक पटक मात्र झुक्काउन सकिन्छ तर दिर्घाकालिन रुपमा आँफुले बोलेका कुराहरु नै स्वयमको लागि चुनौती बन्न सक्छन । सक्षम नेतृत्वले कहिले पनि झुटा र काल्पनिक कथाबाट नेतृत्वको दिशा निर्धारित गर्न सक्दैन, उसले कुरा हैन कामले जनताको मन जितेको हुन्छ ।
अबको २१ औ सताब्दीको आधुनिक युगमा सुचनाको प्रणालीको सुविधालाई गलत प्रयोग गरेर जनता भुलाउने प्रयत्न गरिदै छ। तर नेपालमा तीन सय बर्ष पुराना मार्सवाद,लेलिनवाद, माओबादलाई अगाडी देखाएर मुलुक लुट्ने प्रपन्च गरिदै छ । अहिले देखिएका सुन, तेल, नुन, कथित जनमुक्ति सेनाको भ्रष्टाचार, लगायतका काण्ड र त्यसको छानबिन वा न्यायिक प्रक्रियाका अबरोधहरु भबिष्यका प्रतिछायाँहरु हुन् । किनकि बिहानीले नै दिनको संकेत दिइसको हुन्छ। तर यदि साँच्चिकै जनमुखी कार्यक्रम ल्याएर समृद्धिको बाटोमा अघि बढ्ने चेष्टा गर्ने हो भने हामी कदापि पूर्वाग्रही बन्नु हुदैन र समृद्धिको अभियानमा मुलुक बाहिर र मुलुकभित्रका आम नागरिक एक ढिक्का हुनु पर्छ।
अहिलेसम्मको इतिहाँस हेर्दा,राजनीतिक नेतृत्वले अहिलेको बिज्ञान र प्रविधिले प्रदान गरेको सुविधा तथा जनताको चेतनास्तरलाई बेवास्ता गरी परिस्थिती अनुकुल नेतृत्व दिन नसक्नु ठुलो कमजोरी हो भन्दा आत्युक्ति नहोला । नेतृत्वले बिज्ञान र प्रबिधिलाई समय र परिस्थितिको चुनौतीलाई सामना गर्न सक्ने साधनको रुपमा प्रयोग गर्न सक्नु पर्दथ्यो । त्यो अनुकुलको वातावरण समेत निर्माण गर्न सक्नु बान्छनीय हुन्थ्यो । तब मात्र त्यो नेतृत्व सफल मानिन्थ्यो। तर अहिलेसम्म जनताप्रति गद्दारी, धोका-घडी, र वर्गशत्रु संहारको नाममा उनीहरुको रगतको अपमान भन्दा केहि भएको छैन। यति हुदा पनि जनताले नेताहरुलाई माफी दिदै फूलमालाले नै सम्मान गरेका छन्। अब कदापि सहनु हुदैन त्यो आत्मघात सरह हुनेछ र भाबि पुस्ताले हाम्रो दासताको कथा पढेर हामीलाई श्राप दिनेछ। अत सबै पार्टीका नेताहरु जनताप्रति उत्तरदायी बन्न जरुरि छ।
अबको आधुनिक बिज्ञान र प्रविधिको युगमा जनचाहना भनेको मुलुकमा शुशासन, निष्पक्ष तथा स्वच्छ न्याय पालिका, सूचनाको हक अधिकार, समानता सहितको जिवन्त मानव अधिकार, शान्ति- सुरक्षा र अमनचयन हो । जनताले दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने सेवा सुबिधाको ग्यारेण्टी सहित स्वदेशमै रोजगार माग रहेका छन। त्यसको लागि सरकारले योजनाबद्धरुपमा द्रुत बिकासको थालनी गर्नु आबश्यक छ । किनकि जनताले आफ्नो श्रम, योजना र क्षमतामा देश समृधि भएको हेर्न चाहन्छन। जनताले हिड्नलाई राम्रो सडक चाहेका छन। शुद्ध पिउने पानी चाहेका छन। बालबालिकाको राम्रो शिक्षा-दिक्षाको लागी आर्थिक रुपमा पहुच पुग्न सक्ने स्कुल, कलेज र बिश्वबिद्यालय खोजेका छन। जनताले बिरामी भएको समयमा सेवा सुबिधा सहितको दक्ष डाक्टर भएको राम्रो अस्पताल खोजेका छन। जनतालाई बिबिध प्रकारका सिद्धान्त वा बाद प्रति कुनै वास्ता र सरोकार नै छैन। अबको नेपाली जनता वैयक्तिक स्वतन्त्रता र न्यायको पहुँच सहितको सबल राष्ट्र चाहन्छन्। हावाका भिटामिन क्याप्सुलमा धेरै ताकत हुंदैन भन्ने कुरा जनताले बिस्तारै बुझ्दैछन्।
खुलेर भन्नु पर्दा जनतालाई बिकासका योजना र कार्यक्रम भएका राष्ट्र प्रति समर्पित राजनीतिक पार्टी र नेता चाहिएको छ। जनताले अहिलेसम्म संयमित हुँदै बिकल्प भित्र विकल्प खोज्दै छन् तर याद रहोस अब त्यो दिन टाढा छैन, नेपालीहरुले कल्पभित्र समेत विकल्प खोज्ने छन्। आफ्नो स्वार्थ पुरा गर्न बन्द, हड्ताल गरि राज्यमा बितण्डता मच्चाउने राजनीतिक दल वा नेता जनविरोध राष्ट्रघाती हुन भन्नु पर्दा दुख लाग्छ । जसले देश र आधारभूत जनतालाई प्रयोग गरी आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्दछन।
आदरणीय नेताहरु बिपी कोइराला,गणेशमान सिंह,मनमोहन अधिकारी र मदन भण्डारी जस्ता पुर्व अग्रज नेताहरुले गरेको सबल नेतृत्वको बखान गरेर इतिहाँस भजाउने ललिपप नेतृत्वको हामीले खुलेर बिरोध गर्नु पर्ने भैसकेको छ। ईतिहासलाई जनताको अगाडी भजाएर आफ्नो दलमात्र ठुलो देशभक्त र राष्ट्र प्रेमी हुने, समय अबको सूचना,बिज्ञान र प्रविधिको युगमा सम्भव छैन। सुचना पहुँचको कारण जनता क्रमश हरेक कार्यको विश्लेषण गर्न सक्ने भैसकेका छन्।
नेपालका भ्रष्ट नेताहरु प्राय जसोको राजधानीमै निवास बनाइ बसाई पनि सरि सकेका छन्। उनीहरु सधै परिवारसित राजधानीमा रमाई रहने गर्दछन र सामान्यतया जनताको कुनै मतलब छैन । गाउँ घर वा आफ्नो चुनाव क्षेत्र तिर कहिले काहीं बिशेष कार्यक्रममा जाने,कार्यक्रतालाई भेटभाट गर्ने अनि कार्यक्रताबाट खादा र माला लगाएर मान-सम्मान खाने चलन बढ्दै गएकोले गाउँ घरका समस्याहरु प्रति उनीहरुले भाषण र गोष्ठीहरुमा गोहीका आँशु झार्ने बाहेक अन्य प्रगति भएको देखिदैन। जति भएको छ स्थानिय श्रम र प्रयासबाट भएको भन्दा कसै प्रति अन्याय हुने देखिन्न। आमनागरिकहरुका समस्याहरुलाई पहिचान गर्न नसक्ने टुरिष्ट नेताहरुले आफ्ना मतदाताहरुलाई पनि पहिचान गर्न सक्ने कुरा भएन। राजनीतिक सिण्डिकेटको आधारमा नेतृत्व लिन खोज्ने नेताहरुको झोले प्रवृतिलाई आगामी समयमा जनताले पहिचान गरि हिसाब-किताब दुरुस्त राख्न अब ढिलाई गर्नु आत्मघाती हुने छ।
अबको सूचना र प्रविधिको युगमा मनि र मशलको भरमा चुनाब जित्ने चलनलाई नकार्दै अहिलेको राजनैतिक हली प्रवृतिलाई सबै पार्टीका कार्यकर्ता वा जनताले चुनौती दिन सक्नु पर्दछ। दूरदृष्टि र एजेण्डा विहिन नेतालाई नेतृत्व सुम्पिनु हुदैन भन्ने कुरामा आमजनता सचेत हुने पर्छ । अन्यथा यिनीहरुले हामीलाई अझै दशकौंसम्म ठगि रहने छन्। झुट र सुट तथा नक्कली “बाद”ले नेपाली जनतालाई आगामी दिनहरुमा सजिलै झुक्काउन नसकोस भन्ने उदेश्य राखी सबै प्रदेशहरुमा नेताहरुको कार्यको अभिलेख राख्नु अनिवार्य भैसकेको छ। यो कार्य हामी एनआर एनहरुले मात्र नभएर पत्रकार,लेखक, कलाकारले पनि हेक्का राखौं र अबका दिनमा सबै दलका दाशहरु जन्माउने भट्टीहरु बन्द गरि कर्मशील देशभक्त नेपाली जन्माउने अभियानमा गोलबन्द बनौ। यदि मुलुकलाई आवस्यक पर्छ भने डायस्पोरामा रहेका दक्ष नेपालीहरु आफ्नो दक्षता र सिप बोकेर मुलुक फर्कन समेत तत्पर रहने संकल्प गर्नु पर्दछ । यहीमात्र हाम्रो पितृ र मातृ ऋणबाट मुक्त हुने एउटा स्वाभिमानी बाटो हुनेछ। नेताहरुको कर्मगत प्रमाणहरुलाई साक्षी राख्दै देश र जनताको पार्टी, योग्य तथा,कुशल नेतृत्वलाई बिना आग्रह समर्थन गरौ र कथित हावादारी लफ्फाजीहरुका मजाकमा सहभागी भएर रमाइलोमा ताली नठोकौं। अस्तु ….!!!
(जर्मनी निबासी लेखक थापा एन आर एनएका निवर्तमान केन्द्रिय सल्लाहकार र एक सामाजिक अभियन्ता समेत हुनुहुन्छ।)






