वीरगन्ज : वीरगञ्जको इनर्वा नाकास्थित शंकराचार्य प्रवेशद्धारा नजिक शनिवार बेलुकी ग्यास ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा आमाछोराको ज्यान गएको छ भने बाबु गम्भीर घाइते भएका छन्।

रक्सौलबाट ग्यास लिएर वीरगन्जतर्फ आउँदै गरेको एच आर ७४ १४६४ नम्बरको बुलेट ट्याङकरले बिआर २२ एम ३५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। शंकराचार्य प्रवेशद्धारा नजिक रहेको प्रहरी चौकी अगाडि नै ट्यांकरले बाइकलाई ठक्कर दिएको थियो।
टयाङकरको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा भारत पश्चिम चम्पारण वेतिया जिल्लाको सिस्वा गाँइ निवासी २७ बर्षिया कुशुम वानी अन्सारी र उनकै छोरा १४ बर्षिय नेक महम्मद अन्सारी रहेका छन्। मोटरसाइकल चलाएका कुसुमका पति चालक ३५ वर्षिया सुब्बा राय अन्सार गम्भिर घाइते भएको प्रहरी चौकी इनर्वाका प्रहरी नायव निरीक्षक रमेश रेग्मीले बताए।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्सारीको नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्याङकरले ठक्कर दिएको प्रनानि रेग्मीले बताए। ठक्कर दिने ट्याङ्कर र चालक चुन्नु सिंह ईनर्वा प्रहरी चौकीको नियन्त्रणमा रहेको उनले बताए।मृतक आमा छोराको शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको अस्पतालको सुरक्षार्थ खटिएका प्रहरी हवल्दार अखिल खडकाले जानकारी दिए।






