काठमाडौँ – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही माघ १२ गते एका विहानै प्रधानमन्त्रीलाई फोन गरे । सत्ता सहयात्री काँग्रेस त्यसमाथि पनि वरिष्ठ नेता पौडेलको फोन आएपछि प्रधानमन्त्रीले प्रधानमन्त्री निवासमा भेटन आएका अरु नेता तथा कार्यकर्तालाई कुराएर गोप्य कोठा तिर गए ।
प्रधानमन्त्री र प्रचण्डबीच करिब दश मिनेट जति वार्ता भयो । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा कुरा गर्न फोन गरेका होलान् भनेर निक्कै चासो दिएर कुरा गरेका प्रधानमन्त्रीले त्यतिबेला थाहा पाए । पौडेलको ध्यान अरु विषयमा थिएन । उनी सरकारले गर्ने काम नियमित तवरले गरोस मेरो समर्थन छ भन्दै आएका थिए । कुरा के रहेछ त भनेर बुझ्दै जाँदा पौडेलले त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा कुरा गर्न खोजेका रहेछन् ।
अरु विषयमा सामान्य कुरा गरेका पौडेलले आधा भन्दा बढी समय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदको विषयमा बढ्ता चासो राखेका रहेछन् ।






