लण्डन । नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भएका हुन् । काउन्सिरहरुमाझ गराइएको मतदानमा उनले दुई तिहाई मत प्राप्त गर्दै जित हासिल गरे । बेलायतमा कुनै पनि काउन्सिलमा मेयर निर्वाचित हुने शर्मा नेपाली समुदायबाट दोस्रो हुन् । यसअघि सन् २०१६ मा स्वान्ली टाउन काउन्सिलमा गुल्मीका शंकर गैरे पहिलोपटक नेपाली मूलका मेयर निर्वाचित भएका थिए । तर उनले काम गर्न आफुलाई असहयोग भएको गुनासो गर्दै बीचमै राजिनामा गरेका थिए ।
कोलबर्न टाउन काउन्सिलमा सन् २०१३ देखि नै शर्मा काउन्सिलर रहंदै आएका छन् । उनले १ वर्ष उपमेयरको रुपमा समेत काम गरेका थिए । त्यसअघि सन् २००७ मा नर्थ योर्कशायरकै स्कटनमा उनी स्वतन्त्र रुपमा काउन्सिलरमा निर्वाचित भएका थिए । सन् २००१ देखि बेलायत बस्दै आएका डा शमाको घर्र पर्वत बिहादी रानीपानी हो । स्पोर्टस् मेडिसिनमा विद्यावारिधी पूरा गरेका उनी बेलायती सेनाको मेडिकल सेन्टरमा कार्यरत छन् । कोलबर्न टाउन काउन्सिलमा कुनै पनि अल्पसंख्यक समुदायबाट मेयर निर्वाचित हुने शर्मा नै पहिलो बनेका छन् । १ वर्षे कार्यकालका क्रममा आफ्नो क्षेत्रका सबै समुदायहरुबीचको सद्भाव बढाउने, हाई स्किल्ड कामहरु सिर्जना गर्ने , जनताका विकाससम्बन्धी आवश्यकता सम्बोधन गर्ने, बेलायत र नेपालबीचमा जनस्तरको सम्बन्ध विस्तार गराउने लगायतका कार्य प्राथमिकताका साथ गर्ने उनको योजना छ ।






