न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले छोरीलाई जन्म दिएकी छिन् ।
जसिन्डाले अकल्याण्ड सहरको एउटा अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी इन्स्टाग्राममार्फत दिँदै अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् ।
यससँगै जसिन्डा संसारको दोस्रो यस्तो नेता बनेकी छिन् जो पदमा रहँदा आमा बनेकी हुन्
जसिन्डालाई सुत्केरी हुने मितिको चार दिनपछि ओकल्याण्ड शहरको एउटा अस्पतालमा भर्ना गरिएको थियो ।
३७ वर्षीया प्रधानमन्त्री जसिन्डाले ६ हप्ताको सुत्केरी बिदा लिएकी छिन् । उनको अनुपस्थितीमा उपप्रधानमन्त्री विन्सटन पिटर्सले कार्यभार सम्हाल्नेछन् ।
यद्यपी, उनका अनुसार उनी आफ्नो समय अनुसा क्याबिनेटको दस्तावेज पढ्नेछिन् ।
जेसिन्डाले पोस्ट सेयर गर्दै आफूले निकै भाग्यमानी महसुस गरिरहेको बताएकी छिन् । उनले छोरीको तौल ३.३१ किलोग्राम भएकोसमेत जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘मलाई विश्वास छ कि अन्य मातापिता जस्तै हामी पनि त्यही भावनासँग गुज्रिरहेका छौं । साथै, म अत्यधिक मानिसहरुको शुभकामना र प्रेमका लागि आभार व्यक्त गर्दछु ।’
जसिन्डाले गत जनवरीमा आफू गर्भवती भएको जानकारी दिएकी थिइन् ।
उनले यसै वर्ष रेडियो न्यूजिल्याण्डलाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म काम गर्ने र आमा बन्ने पहिलो महिला होइन । थुप्रै महिलाले पहिले नै यस्तो गरेका छन् ।’
जसिन्डा सन् १८५६ पछि न्यूजिल्याण्डको सबैभन्दा युवा प्रधानमन्त्री हुन् ।
सन् १९९० मा पाकिस्तानकी पूर्ज प्रधानमन्त्री बेनजिर भुट्टोले प्रधानमन्त्री पदमा रहँदा छोरीलाई जन्म दिएकी थिइन् । उनी पदमा हुँदा आमा बन्ने संसारको पहिलो नेता थिइन् ।






