पोखरा- चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिई फिल्म छायांकन गरेको भन्दै निर्देशक राजु गिरीसहित पक्राउ परेकी अर्चना पनेरुलाई प्रहरीले पाँच घण्टापछि छाडेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरुलाई दुई दिनपछि हाजिर हुन आउने शर्तमा छाडेको प्रशासन कार्यालयले मुद्दा शाखाका नासु केदार लामिछानेले जानकारी दिए । वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले निर्देशक गिरी, पनेरुसहित उनकी आमा सुनिता पनेरु, फिल्मका प्रोपाइटर म्यानेजर गोपाल कुइकेल, सहनिर्देशक सुदीप कुँवर, प्राविधिक हरिभक्त श्रेष्ठ, अछामका सुरेन्द्र बुढा, चितवनका शिवशरण न्यौपाने र कञ्चनपुरका ओकेश पनेरुलाई पक्राउ गरेको थियो ।
प्रहरी टोलीले फिल्म युनिटका सम्पूर्ण छायांकन सामग्री नियन्त्रणमा लिएको छ ।
फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउसो छायांकन स्थल पोखरा- १८, खाल्टे मसिनाबाट कास्की प्रहरीले पक्राउ गरेको थियो ।






