दैलेख, फाल्गुन १५ । दैलेखमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु गर्ने विषयमा छलफल गर्न बोलाइएको कार्यक्रममा झडप भएको छ । लगानी बोर्ड र लगानीकर्ता भारतीय कम्पनी ‘जीएमआर’ले आयोजना गरेको कार्यक्रममा आयोजना पक्षधर स्थानीय बासिन्दा र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका आयोजना विरोधीहरुबीच शुक्रबार झडप भएको हो ।
दैलेखको डाबमा आयोजित छलफलको सुरुमै वैद्य माओवादीका कार्यकर्ताले माइक कब्जा गरेर एकोहोरो विरोधमा उत्रिएपछि स्थानीयले उनीहरुलाई लखेटेका थिए । वैद्य माओवादी, मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई स्थानीयले लखेटेपछि उनीहरुलाई प्रहरीले सुरक्षा दिएर बाहिर पठाएको जनाइएको छ । विरोधी दलका कार्यकर्ताले कार्यक्रमस्थल नै कब्जामा लिने प्रयास गरेको भन्दै स्थानीय उनीहरुका विरुद्ध उत्रिएका थिए ।
स्थानीय बासिन्दाले बाहिरबाट आएर आयोजनामाथि अनावश्यक राजनीति नगर्न पनि आयोजना विरोधीहरुलाई चेतावनी दिएका थिए । दैलेख, अछाम र सुर्खेतका १२ गाविस प्रभावित हुने ९ सय मेगावाटको उक्त आयोजना भारतीय कम्पनी जीएमआरले निर्माण गर्दैछ ।
माथिल्लो कर्णाली छलफलमा झडप






