क्रान्तिको नक्कल हुँदैन : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताउनुभएको छ ।

निजी निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष दाहालले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।”