लण्डनको वेलिङमा नेपाली नयाँ वर्षको रमाइलो

लण्डन ।ब्रिटेनस्थित नेपाली पेशाकर्मीहरुको संस्था ‘सोसाइटी अफ नेप्लीज प्रोफेसनल्सल युके’ ले शनिबार दक्षिणपूर्वी लण्डनस्थित वेलिङमा एउटा रमाइलो कार्यक्रम आयोजना गरेर नयाँ वर्ष २०७५ लाई स्वागत गरेको छ।

नेपाल तथा ब्रिटेनको राष्ट्रिय गान गाएर शुरु गरिएको कार्यक्रमको शुरुमा जीसीएसइ, ए लेभेल लगायतका परीक्षामा राम्रो गरेका विद्यार्थीहरु र समाजका गतिविधिमा सघाउनुहुने डा. बच्चुकैलाश कैनी, विमल अधिकारी लगायतका महानुभावहरुलाई प्रमाणपत्र तथा कदरपत्र प्रदान गरिएको थियो।

सो अवसरमा संस्थाका उपाध्यक्ष दीप गिरीले सबै सहभागीहरुलाई स्वागत गर्नुभयो भने समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले बेलायतमा बसोबास गर्ने विभिन्न पेशामा आवद्ध साथीहरुले शुरुगरेको संस्थाले दश वर्ष पुरा गरेकोमा खुसी व्यक्त गर्दै बालबालिकाको व्यक्तित्व विकासका साथै नेपालमा सीप हस्तान्तरणको क्षेत्रमा संस्थाले काम गरिरहेको बताउनुभयो। कार्यक्रममा नेप्लीज युथ नेटवर्कको तर्फबाट अभय फेरालीले शुभकामना द‌िएका थिए।

कार्यकाल पुरा गर्न लागेको कार्यसमितिको तर्फबाट बोल्दै अध्यक्ष डा. तेजेन्द्र फेरालीले बेलायतमा बसेर पनि आफुहरुले तनमन र धनले नेपालको विकास र रुपान्तरणकालागि सक्दो प्रयास गरिरहेको बताउनुभयो। साथसाथै हाल ब्रिटेनमा पढीरहेका आफ्ना बालबालिकालाई नेपालसंग जोडन र अब केही वर्षपछि सेवा निवृत्त हुने प्रवासी नेपालीहरुले आगामी दिन कसरी बिताउन उपयुक्त हुन्छ भन्नेबारे पनि आफुहरुले छलफल शुरु गरेको बताउनुभयो। सो अवसरमा डा. फेराली तथा श्रीमती आशा फेरालीले आफ्नो कार्यकालमा सघाउने कार्यसमितिका सदस्य तथा सल्लाहकारहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने कार्यसमितिको तर्फबाट उपाध्यक्ष दीप गिरी तथा श्रीमती गिरीले अध्यक्ष तथा श्रीमती फेरालीलाई मायाको चिनो प्रदान गर्नुभयो।

संस्थाले प्रकाशन गरेको स्मारिकाको अध्यक्ष फेराली, पूर्व अध्यक्षहरु अर्कराज तिमिल्सिना, नारायण भट्टराई तथा सल्लाहकार भगीरथ योगीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो। त्यस्तै पूर्व अध्यक्ष तिमिल्सिनाले गीतकार सर्बेन्द्र अधिकारीको नयाँ गीति एल्बम सार्वजनिक गर्नुभयो।

सोही अवसरमा आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित नयाँ कार्यसमितिले शपथ लिनुसाथैका पुरानो कार्यसमितिका पदाधिकारीहरुले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। नव निर्वाचित कार्यसमितिमा शेखर वाग्ले अध्यक्ष, रामकृष्ण अधिकारी उपाध्यक्ष, अर्जुन पौडेल सचिव, श्रीमती श्रृजना पाण्डे सहसचिव, निर्मल नेपाल कोषाध्यक्ष तथा सदस्यहरुमा रामकृष्ण सिटौला, माधव पराजुली, श्रीमती नमिता अधिकारी कार्की, श्रीमती सुषमा ढुंगाना, भरत राज लामिछाने तथा संगम भण्डारी रहनुभएको छ।

कार्यक्रमको दोश्रो चरणमा शंकर चौधरीको प्राविधिक सहयोगमा दिनेश पौडेलले निकै रोचक ढंगले सांस्कृतिक कार्यक्रम सन्चालन गरिएको थियो।