चितवनमा ४ जनामा स्वाइनफ्लु

चितवन, फाल्गुन १४ । चितवनमा ४ जनामा स्वाइनफ्लु देखिएपछि उच्च सर्तकता अपनाइएको छ । स्वाइन फ्लु देखापर्नेमा ३ जना भरतपुर उपमहानगरपालिकाका र एकजना नवलपरासीको दिव्यपुरीका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका संक्रमित तीनै जना महिला रहेको जनाइएको छ ।
भरतपुर अस्पतालबाट नमुना परीक्षणका लागि पठाइएका ४३ जना मध्ये ४ जनामा यो संक्रमण फेला परेको हो ।
यस्तै, विहीबार मात्रै भरतपुर अस्पतालबाट थप १० ओटा रिपोर्ट परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वाइन फ्लुविरुद्धको अभियानलाई तीव्रता दिन केन्द्रबाट औषधि मगाइ सकिएको पनि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले स्वाइन फ्लुबारे सचेतनामूलक अभियान थालेको छ ।