नयाँ वर्षको स्वागतमा लन्डनमा साहित्य सन्ध्या,स्थानीय श्रष्टाहरु सम्मानित [फोटो फिचर]

लन्डन– नयाँ वर्षको स्वागतमा लन्डनमा साहित्य सन्ध्या कार्यक्रम आयोजना गरिएको छ । नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयाँ वर्ष २०७५ को आगमनको अवसरमा बिहीबार साँझ २९ औं उक्त साहित्य सन्ध्या आयोजना गरिएको हो।

कार्यक्रममा परिषदका पदेन संरक्षक तथा राजदूत डा.दुर्गाबहादुर सुवेदीले कवि कोमलप्रसाद श्रेष्ठ मल्लको ‘म देश लेख्छु’ नामक कविता संग्रह लोकार्पण गरे । कृतिमाथि साहित्यकार तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीले समिक्षात्मक टिप्पणी प्रस्तुत गरे ।

राजदूत सुवेदीले स्थानीय सर्जकहरु ध्रुव केसी र हरिविभोर कार्कीलाई परिषदको एनएलडिसी दोश्रो स्वर्णपदक एवं घनबहादुर थापा मगर र हरिसिंह थापालाई नेपाली साहित्य पुरस्कार प्रदान गरेका थिए ।

महासचिव डा. सुधा श्रेष्ठले संचालन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष साहित्यकार सुरेशजंग शाहको अध्यक्षतामा सम्पन्न साहित्य सन्ध्यामा उपाध्यक्ष कवि रेशम अर्यालले स्वागत मन्तव्य दिए भने वरिष्ठ सहअध्यक्ष कोमल मल्ल श्रेष्ठले हरेक वर्ष यस्तो कार्यक्रम गर्न पाउंदा खुशी र गौरव लागेको बताए ।

कार्यक्रममा परिषदका सल्लाहकार  डा.राघवप्रसाद धिताल (ओबिइ), यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष शशीधर नेपाल, परिषदका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहले २३ औं वर्षदेखिको साहित्यिक अभियानबारे चर्चा गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा वसन्त रायक्षेत्री,घन बहादुर थापामगर, बासु शर्मा, श्रीमती गिता खरेल, विश्वासदीप तिगेला मनोज अन्जान, रेशम अर्याल, ध्रुव केसी, दुत पुन, खगेन्द्र नेपाली, डा.सुधा श्रेष्ठ, केशव पुडासैनी, कोमल प्रसाद श्रेष्ठ मल्ल, फडिन्द्र भट्टराई, माधवप्रसाद पौडेल, ज्ञानेन्द्र रावत, डम्बर सिंह लगायतले कविता वाचन गरे ।

कार्यक्रममा दूतावास परिवार,एनआरएन यूकेका महासचिव आर.के. त्रिपाठी,एनआरएन युकेका सल्लाहकार डा. मिन राना भाट सहित विभिन्न संघ संस्थाका प्रतिनिधि, सर्जक, समाजसेवी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।