काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि आज दिल्ली पुगेका छन् । नेपाल एयरलायन्सको विमानबाट बिहान १०:४५ मा आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरे ।
गिरिजाप्रसाद कोइरालापछि स्वागतमा सम्मान पाउने ओली दोस्रो प्रधानमन्त्री हुन् । भारतमा विदेशी सरकार प्रमुख आउँदा राज्यमन्त्रीले स्वागत गर्ने प्रचलन थियो ।
राजनाथ भारतीय प्रधामन्त्री मोदीपछिको वरीयताक्रममा छन् ।
ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तिय राज्य मन्त्री शिवप्रताप शुक्ल र नेपाली दूतावासका तर्फबाट कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ ।
विमानस्थलबाट ओली सिधा राष्ट्रपति भवन पुगेर केही बेरको आरामपछि धौलाकुँवास्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समयतालिका फेरबदल नभएमा प्रधानमन्त्री ओलीलाई भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा आजै भेटने कार्यक्रम रहेको बुझिएको छ । त्यसैगरी भारतीय जनता पार्टीको नेताहरुले ओलीसँग अनौपचारिक भेटघाट गर्ने बुझिएको छ ।
त्यसैगरी साँझ नेपाली दूतावासको प्राँगणमा प्रवासी नेपालीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आजै साँझ नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना आयोजना गर्ने रात्रीभोजमा सहभागी पछि प्रधानमन्त्री ओलीको आजको कार्यक्रम सकिने छ ।
५४ सदस्यको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणमा आएका ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादब लगायत सहभागी छन् ।






