तराई मधेशी टाइगर्सले हतियार बुझाउने

भैरहवामा सम्पन्न संवैधानिक संवाद समितिबाट गठित प्रारम्भिक वार्ता उपसमिति र भुमिगत तराई मधेशी टाईगर्स पार्टी बीचको वार्ता सकारात्मक भएको छ । वार्ताबाट सशस्त्र समूह तराई मधेशी टाईगर्स पार्टी आफ्ना सम्पूर्ण सशस्त्र क्रियाकलाप छोडी शान्ति प्रक्रियामा आउन सहमत भएको छ ।
आगामी पौष २० गते भित्र आफूसंग रहेका सम्पूर्ण हातहतियार पनि सरकालाई बुझाउन पार्टी सहमत भएको वार्ता समितिका सदस्य एवं रुपन्देही क्षेत्र नं. ५ का सभासद सर्वेन्द्र नाथ शुक्लाले बताए ।
यस्तै, पार्टीले सरकारलाई हतियार बुझाएपछि पार्टीका बन्दी रहेका नेता तथा कार्यकर्ताका रिहाई र लागेको मुद्धा सम्बन्धमा कानुन बमोजिम खारेजीको लागी सरकारसंग आवश्यक पहल गर्ने र वार्ता टोलीमा रहेको संयोजक सहितका सदस्यहरुलाई पूर्ण सुरक्षाको प्रत्याभुति गराउने पनि सहमति भएको शुक्लाले जानकारी दिए ।
पार्टीका तर्फबाट जयप्रकाश यादवको संयोजकत्वमा राम मिलन चौधरी र रोशन शाहको उपस्थित रहेको थियो भने वार्ता उपसमितिका तर्फबाट उपसमिति संयोजक आनन्द प्रसाद ढुङ्गाना र धर्मनाथ प्रसाद शाह रहेका थिए ।