गगनशिला खड्का
गुल्मी २६ मंसिर । कानुनी प्रक्रिया नबुझेर हिंसा सहन बाध्य भएका गाउँ —गाउँका महिलाहरुको पिरमर्का बुझ्न प्रहरीले गाउँ जाने अभियान शुरु गरेको छ । घरेलु हिंसा, महिला हिंसा,लैङ्गिक हिंसा र घरेलु मदिरा न्युनीकरण अभियानका लागि प्रहरीले गाउँमा पुगेर छलफल शुरु गरेको छ ।
अभियानको शुरुवात जिललाको पश्चिममा पर्ने विकट गाविस छापहिलेबाट भएको छ । हालैमात्र गुल्मी सरुवा भएका गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठ पहिलो पटक गाउँ पुगेर अभियान शुरु गरेका हुन् । सेवा सञ्चार गुल्मीको सहकार्यमा डिएसपी श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले विकट गाविस छापहिलेका स्थानिय महिलाहरुको समस्या र त्यसको समाधानका बारेमा छलफल गरेको हो । लाज र डरका कारण आफ्ना समस्या खुलेर राख्न नसक्ने ग्रामिण क्षेत्रका महिलाको बारेमा बुझ्न र आगामी कार्यक्रम बनाउन गाउँमा पुगेको श्रेष्ठले बताए । उनले घरेलु हिंसामा परेर पिडित भएका महिलाहरु न्यायका लागि सदरमुकाम तम्घास आउन नसक्ने भन्दैँ प्रहरीले अहिले गाउँ गाउँ पुग्ने अभियान शुरु गरेको जनकारी दिए । ‘हिंसामा परेका महिलाहरु न्याय माग्न तम्घास आउन सक्दैनन्,उनीहरुलाई जानकारी पनि हुदैन कहाँ जाने त्यसैले गाउँ पुगेका हौँ ।’ – उनले भने ।
कार्यालयका प्रमुखहरु यदाकदामात्रै गाउँ जाने भएकोले प्रहरी नायव उपरीक्षक सहितको टोलीले पहिलोपटक गाउँमा पुगेर आफ्ना समस्या बुझेकोमा स्थानियले खुसि व्यक्त गरे । पछिल्लोपटक गाउँमा विकृतिहरु बढ्न थालेको र समस्या आउपछि दिईने उजुरीको आधारमा प्रहरी चौकीमा बसेर गरीने छलफलले त्यसको दिर्घकालिन समाधान गर्न नसक्ने स्थानीय सावित्रा खड्काले बताईन । पछिल्लो समय मदिराका कारण महिला हिँसा मात्र होईन, गाउँ नै सन्त्रस्त बनेको उनको भनाई छ । ‘गाउँमा प्रहरी आएर आफै बुझेपछि समस्या जरैदेखि पहिचान गरी दिर्घकालिन रुपमा समाधान होला’ – उनले भनिन् – ‘नत्र विकृतिको समयमै निराकरण हुन नसके भोली ठूलो समस्या आउन सक्छ ।’ 
गाउँलेका पिरमर्का बुझ्न गएका प्रहरी नायव उपरीक्षक श्रेष्ठसंग गुनासो राख्दैँ समाजमा हुने गरेका विकृति प्रतिष्ठित व्यक्ति बाटै हुने गरेको अनेरास्वीयु गुल्मीका अध्यक्ष ओम कार्कीले बताए । ‘यहाँ जति कुरा भएका छन ति सबै ठुलावडाले सिकाएका छन्, जाँडरक्सी खान,जुवा खेल्न ।’ – उनले भने । उनले जनचेतनाको हिसावले पछाडि रहेका गाउँलेलाई शिक्षित बनाउन जोड दिए । स्थानीय समाजसेवी उपेन्द्र बहादुर खड्काले समस्याको पहिचान गरी समस्या समाधानका लागि सबै गाउँले लाग्नुपर्ने बताए । उनले महिलाहरुलाई बिनाहिचकिचावट आफ्ना पिरमर्का राख्न सल्लाह पनि दिए ।
प्रहरीले गरेको अन्र्तक्रियामा छापहिले गाविस सचिव भोट बहादर खत्रीले पहिलो पटक आफु कार्यरत गाविसमा आएकोमा धन्यवाद दिदैँ समाज परिवर्तनको शुरुवात पहिले आफु वाटै गर्नुपर्ने बताए । सेवा सञ्चार गुल्मीका अध्यक्ष गंगा खड्काले हिंसा रहित समाजका लागि पहिले सबै अनुशासित हुनुपर्ने बताईन् । उनले जवसम्म समाजका सचेत वर्गहरु अनुशासनहिन हुन्छन् तवसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने धारणा राखिन् । गाउँलेको बाक्लो सहभागिता रहेको अन्र्तक्रियामा प्रहरी नायव उपरीक्षक श्रेष्ठले घरेलु हिंसा,महिला हिंसा,लैङ्गिक,यौन दुव्र्यवहार र घरेलु मदिरा न्युनीकरणको विषयमा गाउँलेहरुलाई प्रशिक्षण दिएका थिए ।
छापहिलेका महिलाहरुले आफ्ना समस्या बुझ्न प्रहरी गाउँ आएकोमा खुसी व्यक्त गरे । आर्थिक अभावका कारण अन्यायमा परेका महिलाहरु न्याय माग्न सदरमुकाम आउन नसक्ने बताउँदैँ उनीहरुले आगामी दिनमा पनि यसरी आफ्नो गाउँ आउन आग्रह गरे ।
स्थानियको पिरमर्का बुझ्न गाउँ प्रहरी






