नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्न जनादेश : डा. कोइराला

विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको र कांग्रेसले पाँच वर्ष संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको बेलामा वाम गठबन्धनले दिएको राष्ट्रपतीय शासनलगायतका धमधमीतर्फ सो गठबन्धन अग्रसर भएमा मुलुक धरापमा पर्ने नेता कोइरालाको भनाइ थियो । संविधानतः लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे काँग्रेसले सहयोग गर्ने उहाँले वचनबद्धता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने उहाँको धारणा थियो । संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो, “निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनुहुँदैन थियो ।”