अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतलाई

सिड्नी । घरेलु टिम अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ । ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले आफ्नो बनाएको हो ।

टेस्टको चौंथो दिन सोमबार अष्ट्रेलिया दोस्रो इनिङ्समा २ सय ९४ रनमा अलआउट भएपछि भारतले जितका लागि ३ सय २८ रनको लक्ष्य पाएको थियो ।

उक्त चुनौतिपूर्ण लक्ष्य भारतले अन्तिम दिन ७ विकेट गुमाएर पुरा गर्यो । र, भारतले बोडर–गावस्कर टेस्ट आफ्नो बनायो । भारतका लागि सुबमन गिलले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्त ८९ रनमा अविजित रहे ।

यस्तै चेतेश्वर पुजाराले ५६ रन जोड्दा कप्तान अजिन्का रहानेले २४ रन बनाए । वासिङ्गटन सुन्दर २२ रनमा आउट भए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

दोस्रो इनिङ्समा अष्ट्रेलियाका स्टिभ स्मिथले ५५ रन बनाए । डेभिड वार्नरले ४८ रन जोड्दा मार्कुस हारिसले ३८ रन बनाए ।

भारतका मोहमद सिराजले ५ विकेट लिए । सार्दुल ठाकुरले ४ विकेट लिए । भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो ।

भारतका लागि शार्दूल ठाकुरले ६७ र वासिङ्टन सुन्दरले ६२ रन बनाए । रोहित शर्माले ४४ रन जोड्दा मायांक अग्रवालले ३८ रन जोडे । कप्तान अजिंका रहाने ३७ रनमा आउट भए ।

अष्ट्रेलियाका जोस हाजलउडले ५ विकेट लिए । पाट कुमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए । यस्तै अष्ट्रेलिया पहिलो इनिङ्समा ३ सय ६९ रन जोड्दा अलआउट भएको थियो ।

अष्ट्रेलियाका लागि मार्नस लाबुसेनले शतक बनाए । लाबुसेन १ सय ८ रन बनाएर आउट भए । कप्तान टिम पेनले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा क्यामरुन ग्रिनले ४७ रन बनाए ।

यस्तै पूर्व कप्तान स्टिभ स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन जोडे । नाथन लायन २४ रनमा आउट हुँदा मिचेल सतर्क २० रनमा अविजित रहे ।

भारतका टी–नटराजन र सार्दुल ठाकुरले ३–३ विकेट लिए ।

सिरिज अन्तर्गत पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । तर, दोस्रो टेस्टमा भारत ८ विकेटले नै विजयी भएको थियो । तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो ।