लन्डन– बेलायत सरकारले १ अप्रिलदेखि लागू हुने गरि कामदारहरुको न्यूनतम ज्याला वृद्धि गरेको छ ।
सरकारको ज्यालावृद्धि घोषणाले पूर्णकालिन कामदारको वार्षिक आय करिब ६ सय पाउण्डसम्म थपिने अनुमान गरिएको छ । त्यसबाट कम्तीमा २० लाख कामदार लाभान्वित हुनेछन् ।
२५ वर्ष माथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७.५० बाट ७ पाउण्ड ८३ पेन्स बढाइएको छ । जुन गत वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।
२१ देखि २४ वर्ष उमेरकाले भने प्रतिघण्टा ७ पाउण्ड ३८ पेन्स पाउँछन् जुन यसअघि ७ पाउण्ड ५ पेन्स थियो । १८ देखि २० वर्ष उमेरका कामदारलाई ५ पाउण्ड ६० पेन्सबाट ५ पाउण्ड ९० पेन्स वृद्धि गरिएको छ ।
टोरी सरकारले सन् २०२५ सम्म प्रतिघण्टा ९ पाउण्ड बनाउने प्रतिबद्धता जनाएको थियो ।
अर्थमन्त्री फिलिप हयामण्डले गत नोभेम्बरको अटम बजेटमा न्यूनतम ज्याला वृद्धि गर्ने घोषणा गरेका थिए । तलब बृद्धिको घोषणापछि अर्थमन्त्री हयामण्डले नेशनल लिभिङ वेज बढाउने, आयकर घटाउने साथै लगातार आठ वर्षसम्म इन्धनमा लगाइने कर स्थिर राखेर लाखौं मानिसको जीवनस्तर बढाएको दाबी गरेका छन् ।






