स्वीडेनमा नयाँ वर्ष २०७५ धुमधामका साथ मनाईदै – गायक तुलसी र गायिका बिनिताको बिशेष प्रस्तुती हुने

लण्डन । नजिकिदै गरेको नेपाली नयाँ बर्ष २०७५ लाई स्वागत गर्नको लागि देश तथा विदेशमा धुमधाम सँग नयाँ बर्ष मनाउने प्रचलनलाई कायम गर्दै यूरोपमा अबस्थित स्वीडेनको रमणीय सहर तथा राजधानी स्टकहोल्ममा आगामी अप्रिल १४ मा नेपाली नयाँ बर्ष २०७५ सांस्कृतिक कार्यक्रम भव्य र सभ्यका साथ मनाइँदैछ ।

गैर-आवासीय नेपाली संघ, स्वीडेनको आयोजनामा गर्न लागेको उक्त कार्यक्रममा यूरोपका चर्चित गायक तुलसी शिवाकोटी र लोकगायिका बिनिता लामिछानेको साथमा स्थानिय कलाकारहरू शक्ति लामा, दिया श्रेष्ठ, शर्मिला पाईजा, सिर्जना लामा, लक्ष्मण खडका, अम्बिका खनाल, रूजुला गुरूंग र कुसुम आचार्यको बेजोड प्रस्तुति रहने छ । कार्यक्रम निकै भब्य रहने र सम्पूर्ण तयारी तिब्र रहेको जानकारी एनआरएन स्वीडेनका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठले जानकारी गराए ।

आ-आफ्ना समस्या र बाध्यता कारण अनगिन्ती बिलक्षण प्रतिभाका धनी नेपाली कलाकारहरू यूरोप पलायन भएका छन् जो मनमा चाहना हुँदा हुँदै पनि परिस्थितिका कारण आफ्ना कलाकारिता प्रस्तुत गर्न असमर्थ छन । श्रेष्ठ थप्नु हुन्छ यस्ता प्रतिभाशाली कलाकारिताका धनी व्यक्तित्वहरूलाई हामीहरूले सम्मानका साथ उनीहरूका प्रतिभालाई उजागर गर्न प्रोत्साहन गर्नुपर्ने हुन्छ । साथै आउँदा दिनहरूमा यूरोप भित्रै छरिएर रहेका कलाकारहरूलाई आफ्ना प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्ने र उनीहरूलाई सक्दो सहयोग गर्ने कुरा प्रष्ट पार्नुका साथै यस कार्यमा हातमा हात मिलाई सहयोग गरिदिनु हुन सम्पूर्ण यूरोपबासी नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई अनुरोध गरेका छन ।

स्वीडेनको विषयमा भन्नू पर्दा सधैं जसो सबै चाड-पर्वहरु शनिबारकै दिनमै मनाउदै आएकोमा यसपालीको नयाँ वर्ष मनाउने दीन भने साह्रै नै उपयुक्त बार शनिबार नै परेको हुँदा सोही दिन नै नयाँ वर्ष मनाउने निर्णय गरेको हुनाले सम्पूर्ण स्वीडेन बासि नेपाली दाजु-भाइ, दिदीबहिनीहरू, सम्पूर्ण संघ-संस्था, कलाकार, पत्रकार, ब्यबसायीका साथ सबैलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन सम्पूर्ण स्वीडेनबासीलाई अध्यक्ष अर्जुनले अपिल गरेका छन ।