लण्डन । यूके नेपाल फेडेरेसन अफ बडीबल्डिंग एण्ड फिटनेस (यूकेएनएफबिएफ) ले आयोजना गरेको छैठौं मिस्टर यूके नेपाल २०१८ मा हिमाल भुजेल च्याम्पियन भएका छन् ।
शनिबार अल्डरसटमा आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धिहरुलाई उछिन्दै भुजेलले १ हजार पाउण्ड नगदको पुरस्कारसहित ट्रफी हात पारे ।
त्यसैगरि प्रतियोगितामा दोस्रो स्थान लोक गुरुंग र तेस्रो स्थान कुमार गुरुंगले ओगट्न सफल भएका छन् भने दोस्रो हुनेले ५ सय र तेस्रो हुनेले ३ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत इण्डिभिजुएल रुट इन र पोजिंग गरी विभिन्न दुई चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
विजेताहरुलाई आयोजक यूकेएनएफबिएफ अध्यक्ष किशोर गुरुंग, एनआरएन यूके उपाध्यक्ष , तमु धि यूके अध्यक्ष ज्ञाम गुरुंग लगायतले पुरस्कार वितरण गरेका थिए ।
त्यसअवसरमा गत वर्षका विजेता प्रणय गुरुंगले गेस्ट पोजिंग प्रस्तुत गरेका थिए । मनोरञ्जनका लागि मोडल अनिता लिम्बू र प्रिया गुरुंगले नृत्य तथा सुदेन गुरुंगले गायन प्रस्तुत गरेका थिए ।
हरेक वर्षजस्तै यस वर्ष पनि प्रतियोगीहरुलाई प्रशिक्षण गराउन मिस्टर यूके नेपाल सानु गुरुंग नेपालबाट बेलायत आएका थिए । यो प्रतियोगिताको संयोजन आयोजक यूकेएनएफबिएफका उपाध्यक्ष सुक गुरुंगले गरेका थिए ।
प्रतियोगिता प्रत्यक्ष हेर्न ४०० सय बढि दर्शक उपस्थित रहेको आयोजक किशोर गुरुंगले जनाएका छन् ।
picture: HAB








