काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्घाटन गरेका छन् ।
भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तब्यमा शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति, सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा पनि गरेका छन् ।
सो अवसरमा उनले शसस्त्र प्रहरी बललाई राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न निर्देशन पनि दिए ।
प्रधानमन्त्री ओलीले यो समय विगततिर फर्केर पश्चाताप वा समीक्षा गर्ने बेला होइन भन्दै वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बेला भएको पनि बताएका छन् ।
‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘अब सबै मिलेर देश निर्माणतर्फ लाग्नु पर्छ ।’
जनताले विकास, निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत हरेक क्षेत्रमा परिवर्तन चाहेका छन्, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसका लागि हामी सबै एकतावद्ध भएर लाग्नु पर्छ, जनताको यो सपना पूरा हुनेछ ।’
सो तालिम केन्द्र निर्माणका लागि चीन सरकारले तीन अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि २४ महिना नै काम पूरा गर्ने चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीको प्रधानमन्त्री ओलीले प्रशंशा पनि गरेका छन् ।






