काठमाडौं – नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएको छ ।
सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् । नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
सैन्य सामाग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ। नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामाग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ । अधिकांश भारतबाटै आयात हुने गरेको छ।
‘सेनाका लागि आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य बन्दोबस्ती सामग्री आफैं उत्पादन गर्न र प्लान्टहरु बढाउन समितिले नेपाल सरकारलाई सुझाव दिएको छ,’ रक्षामन्त्रीलाई प्रतिवेदन बुझाएपछि संयोजक सिटौलाले भने, ‘हामीले सेनाको पुनःढाँचा तथा आधुनिकीकरण गर्न तीनवर्षे अल्पकालीन गुरुयोजना लागू गर्न पनि सिफारिस गरेका छौं ।’
नेपाली सेनाले स्वयम्भूस्थित बारुदखाना, सुन्दरीजल आर्सनल, सुनाचारी आपूर्ति परिवहनबाट सेनाका लागि आवश्यक पर्ने बारुद, गोलीगट्ठा तथा सैन्य सामग्री सीमित मात्रामा उत्पादन गर्दै आएको छ।
पूर्वसहायकरथी प्रेमसिंह बस्नेतका अनुसार पृथ्वीनारायण शाहका पालादेखि नै नेपालले हातहतियार, बारुद तथा सैन्यसामग्री आफैं उत्पादन गर्दै आएको छ। पछिल्लो समय हातहतियार तथा गोलीगट्ठामा नेपालभित्रको उत्पादन घट्दै गएको स्रोतको भनाइ छ ।
समितिले नेपाली सेनाको संख्या तत्काल नबढाउन र नघटाउन पनि सिफारिस गरेको छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, प्राकृतिक सम्पदाको सुरक्षा तथा महŒवपूर्ण व्यक्तिको सुरक्षालगायत जिम्मेवारी निर्वाह गर्न नेपाली सेनाको संख्या तत्काल नघटाउन समितिले सिफारिस गरेको छ ।
विपद व्यवस्थापनमा क्षमता अभिवृद्धि तथा अन्य जिम्मेवारी निर्वाह गर्न सेनाको आन्तरिक संगठनात्मक संरचनामा सन्तुलन कायम राख्न पनि समितिले सुझाव दिएको छ । रक्षा मन्त्रालयलाई पनि समयानुकूल पुनःढाँचा गर्न समितिले सिफारिस गरेको छ। रक्षामा बर्दीधारी कर्मचारी राख्न समितिले भनेको छ ।
यसैगरी, राष्ट्रिय सुरक्षा परिषद्लाई पनि नयाँ संरचनामा लैजान समितिले सिफारिस गरेको छ। नेपाली सेनाको सुदृढीकरण तथा आधुनिकीकरण गर्दै रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयसमेतलाई सबल एवं सक्षम बनाउने सम्बन्धमा अध्ययन गर्न गठित सुझाव समितिका अन्य सदस्यमा शम्भु कार्की र आनन्दराम रेग्मी छन् । नेपाली सेनाका तर्फबाट समितिमा नेपाली सेनाका सहायकरथी शिवराम खरेल सदस्य थिए ।
रक्षामन्त्री खाँडले नेपाली सेनाको संगठनात्मक संरचना तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्न समितिका सिफारिस कार्यान्वयन गर्दै जाने बताए । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि प्रतिवेदन कार्यान्वयन गरी नेपाली सेनाको सांगठनिक तथा व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रक्षासचिव श्रीधर सापकोटाको पनि उपस्थिति थियो ।
रक्षा प्रवक्ता उत्तम नागिलाले नेपाली सेनाको जिम्मेवारी तथा व्यावसायिक भूमिका अभिवृद्धि गर्न समितिले सरकारलाई सिफारिस गरेको बताए । ‘नेपाली सेनाको संगठनिक संरचना तथा आधुनिकीकरण गर्न समितिले सिफारिस गरेको छ,’ नागिलाले भने।






