बेलायतका पूर्व काउन्सिलर धन गुरुङ उत्रिए,गृहनगर झापा

लन्डन । बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर धन गुरुङ आफ्नो गृहनगरमा कन्सर्ट गर्ने तयारीमा जुटेका छन् । यही फेब्रुअरी १५ तारिखमा गुरुङले गृहनगर झापामा कन्सर्ट गर्ने तयारीमा जुटेका हुन । झापाको मेचीनगर नगरपालिकावासी यतिखेर गुरुङको स्वागतको लागि आत्तुर छन् ।

युवावस्थामा सांगीतिक कार्यक्रम गरिरहने माटोमा उनको पुनरागमन हुनेभएपछि नगरबासी खुसीसमेत भएका हुन । ‘दि गोर्खा मेमोरियल फाउण्डेशन नेपाल’ र काकरभिट्टा भेट्रान फुटबल क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको ‘एन इभिनिङ वीथ धनकिरण गुरुङ’ मा विशेष आकर्षण हुनेछन् ।

मेचीनगर नगरपालिका ६ स्थित काकरभिट्टा स्कुल फुटबल मैदानमा उक्त च्यारिटी कन्सर्ट हुने बताइएको छ । कन्सर्टबाट संकलित रकम स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र युवाहरुको खेल विकासका लागि खर्च गरिने गुरुङले लन्डन नेपाल न्यूज डटकमसँगको कुराकानीमा जनाए ।

आफ्नै घर आंगनमा आफन्त, पुराना दौंतरी र नयाँ पुस्तामाझ गीत गाउन ज्यादै उत्साहित देखिएका गुरुङले कन्सर्टमा आफ्नै कम्पोजका म हो नेपाली, मेरो देश नेपाल, जिन्न्दगीको के छ भरोसा, सोल्टिनी नानी, मेरी आमा लगायत गीत प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सोही अवसरमा गुरुङको ‘यात्रा’ नामक एल्बम समेत विमोचन गर्ने कार्यक्रमसमेत छ । सो कार्यक्रममा प्रख्यात हांस्य कलाकार मनोज गजुरेल र गायिका मेलिना राईको पनि जोडदार प्रस्तुती रहनेछ । कन्सर्टको लागि इगल म्यूजिक सिस्टम झापाले साउण्ड सिस्टम व्यवस्था गर्ने भएको छ । साथै स्थानीय प्रशासनले पनि सहयोग गर्नेछ । अध्ययन र ब्रिटिश आर्मीमा भर्ती भएपछि गृहजिल्ला छाडेको ३३ वर्ष भएको उनले जनाए ।

यस बीचमा गुरुङ बेलायतमा पहिलो नेपाली काउन्सिलर हुँदै नाम कमाउन सफल भएका छन् । गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष गुरुङसंग यूकेका ५ जना अग्नी नियन्त्रकहरु पनि यात्रामा सहभागी भएका छन् । ति अग्नी नियन्त्रक गुरुङकै पहलमा मेची नगरपालिका ६ मा अग्नी नियन्त्रणको विशेष तालिम दिनेछन । आगो निभाउन प्रयोग गरिने सामान झण्डै एक टन र २ वटा ठूलो जेनेरेटर समेत प्रदान गर्ने गुरुङको योजना छ ।

कन्सर्टका लागि गृहनगर झापा पुगिसकेका गुरुङले त्यहाँबाट लन्डन नेपाल न्यूज डटकमका लागि प्रधानसम्पादक शिव भण्डारीसँग टेलिफोनमा कुरा गर्दैै कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको र कार्यक्रम भब्य र सब्य गर्न कुनै कशुर बाँकि नराख्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *