इच्छा मृत्यु पाउने कि नपाउने ?, सर्वोच्चले विशेषज्ञ बोलायो

काठमाडौँ, २० माघ । सर्वोच्च अदालतले इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ ।

न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले आज सो विषय गम्भीर प्रकृतिको भएको हुँदा बृहत् छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको हो । मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको हो ।

बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि रिट निवेदन दायर गर्नुभएको थियो । निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरिएको छ ।