एनबिसी यूकेको लन्डनमा पहिलो वृहत’ कविता कन्सर्ट’ [फोटो फिचर]

शिब भण्डारी

लण्डन । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी)को आयोजना शनिबारको सांझ लण्डनको ग्रिनफोर्ड टाउन हलमा लण्डन ‘कविता कन्सर्ट’ सम्पन्न भएको छ। पछिल्लो समय नेपालमा अत्याधिक रुचाइएका युवा कवि नवराज पराजुलीको प्रस्तुतिमा लण्डनमा ‘कविता कन्सर्ट’ सम्पन्न भएको हो । एनआरएन यूकेको भाषा, साहित्य विभागसंगको सहकार्यमा एनबिसी यूकेले 

द्वन्द्वकालमा बाबुआमा गुमाएर अनाथ बनेका बालबालिकाको संरक्षण गरिरहेको सर्लाहीको एक बालगृहको सहयोगार्थ आयोजित यो च्यारिटी कन्सर्टबाट १६ लाख रुपिया बढी कोष बचत भएको प्रारम्भिक जानकारी आयोजकले दिएको छ ।

आसन र भासन बिना पुर्णत: कवितामय वातावरणमा सम्पन्न कार्यक्रमले बेलायतका नेपाली कार्यक्रमहरुमा एक नौलो ट्रेण्ड सुरु गराएको समेत महसुस गरिएको छ ।

कार्यक्रमको एक मात्र मन्तव्य व्यक्त गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले प्रश्न गर्दै भने, ‘नवराज पराजुलीका कवितामा जादु छ कि जादुमा नवराज पराजुलीको कविता छ ?’ राजदूत डा सुवेदीबाट भएको प्रशंसालगत्तै स्टेजमा पुगेका कवि पराजुलीले त्यसपछिको पूरा डेढ घण्टा आफ्नो कविताको जादु नै छरे ।

बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका सयौं नेपालीहरुमाझ कवि पराजुलीले आफ्ना आधा दर्जन कविताहरु वाचन गरेर सुनाए । कार्यक्रममा बेलायतकै ६ जना स्थानीय स्रष्टाले सुनाएका कविता र गजलले पनि सहभागीको खुबै मन जिते । मन्जु खरेल , नृपेश उप्रेती , फडिन्द्र भट्टराई , रमेश कायस्थ, जगत नवोदित र नारायण गाउंलेले आ आफ्ना रचना सुनाएका थिए । कार्यक्रमका मुख्य आकर्षण कवि पराजुलीले करिब डेढ घन्टासम्म लगातार कविता सुनाएका थिए ।

पराजुलीका कविताहरुको प्रवाह संगै बगिरहेका दर्शकहरु उनको प्रस्तुतिसंगै कतिबेला भावुक बने त कतिबेला उत्साहित । आफ्नो लोकप्रिय कविता ‘सगरमाथाको गहिराई’ बाट वाचन सुरु गरेका पराजुलीले दोस्रो प्रस्तुतिमा नयां कविता ‘च्याउ’ सुनाए । अपाङता भएकी एक ४३ वर्षे गाउंले दिदिको वास्त्तविक व्यथा उनले ‘च्याउ’मा बोलेका थिए ; केहि छैन मसंग त्यस्तो, कि कसैले देखेर वाह गर्न सकोस् । र यहां कोहि रैनछ त्यस्तो, जो छालाको रुप र मासुको स्वरुप नहेरी विवाह गर्न सकोस् ।। तेस्रो पालोमा उनले ‘रुख’ कविता सुनाए । श्रीमति गुमाएर एक्लो भएका बृद्धको एक्लोपनको व्यथा समेटिएको ‘रुख’ कविताले सुनिरहेका दर्शकको मन चसक्क घोचिदिन सफल भयो । त्यसपछि आफ्नो लोकप्रिय नम्बरबाट ‘खोया’ कविता सुनाएका पराजुलीले अर्को कविता सुनाउनुअघि भुमिका बांध्दै भने, ‘अब म त्यो कविता सुनाउदैछु जुन कविता सुनाउनका लागि नै म लन्डन आएको हो ।’ ‘बुद्धको टाउकाको मोल’ शीर्षकको उक्त कविताले द्धन्द्धकालमा आतंककारीको आरोपमा बेपत्ता पारिएका मुर्तिकारकी छोरीमार्फत द्वन्दमा बेपत्ता हुनेहरुको परिवारको कथा उजागर गरेको छ । पराजुलीले प्रस्तुतिको बिट मार्दै आफ्नो सर्वाधिक चर्चित कविता ‘हेप्पी बर्थडे’ प्रस्तुत गरे ।

पराजुलीले यसअघि गरेका कविता कन्सर्टहरुभन्दा फरक लण्डनको कन्सर्टमा स्टेजको विशेष सजावट र त्यहिअनुसारको लाइटिंग पनि मिलाइएको थियो । जसको संयोजन कलाकार तथा निर्देशक सनमकुमार वैरागले गरेका थिए । कन्सर्टमा प्रस्तुति गर्ने बेलायतस्थित स्रष्टाहरु द्धन्द्धपीडित अनाथका लागि च्यारिटी हुन त कार्यक्रममा उठेको कोष, व्यवस्थापनमा भएका सबै खर्च आदिबारेको पूरा हिसाबकिताब गर्न आयोजकले अझै भ्याइसकेका छैनन् । तर मोटामोटी रुपमा करिब १६ लाख रुपिया बढि बचत भएको जानकारी कार्यक्रमका संयोजक रामशरण सिंखडाले दिए । कार्यक्रमका लागि टिकट बिक्री, विभिन्न स्पोन्सर तथा सहयोगदाताहरुबाट सहयोग रकम संकलन गरिएको हो । आयोजक एनबिसी यूकेले कार्यक्रमको खर्च कटाएर बचत हुने पूरै रकम सर्लाहीको चेतना सन्देश नेपाललाई पठाउने यसअघि नै बताइसकेको छ ।

यसर्थ लण्डनमा पहिलोपटक आयोजना भएको कविता कन्सर्टबाट द्धन्द्धपीडित अनाथ बालबालिकाको लागि १६ लाख रुपिया बढिको सहयोग जाने भएको छ । सो संस्थाले सञ्चालन गरेको बाल गृहमा अहिले ३ दर्जन अनाथ बालबालिका संरक्षित छन् । गृहका बालिकाहरुलाई छुट्टै आवास कक्ष बनाउने अभियानमा एनबिसी यूकेले सहयोग गर्न लागेको हो । कन्सर्टको मध्यभागमा सोहि बाल ग्रृृृहको बारेमा तयार पारिएको ९ मिनेट लामो भिडियो सामग्री देखाइएको थियो ।

भिडियोमा द्धन्द्धमा बाबुआमा गुमाएका बालबालिकाको कारुणिक कथा बजिरहदा कार्यक्रमका सहभागी धेरैका आंखा रसाएका थिए । कवि पराजुलीले पनि द्धन्द्धपीडित बालबालिकाको लागि लण्डनमा च्यारिटी कन्सर्ट गर्ने भन्ने प्रस्ताव आएलगत्तै आफुले स्वीकार गरेको बताए । ‘मलाई सधै अन्तरवार्ताहरुमा कविता लेखेर के हुन्छ भनेर सोध्ने गरिन्छ, तर मैले अहिलेसम्म चित्त बुझ्ने जवाफ दिन सकेको थिइन’, पराजुलीले भावुक हुंदै भने, ‘यो कन्सर्ट सकिएर जब हामीले यी बालबालिकालाई केहि सहयोग गर्न सक्छौं, अनि मैले मात्र होइन , जोकसैले पनि कविता लेखेर के हुन्छ भन्ने प्रश्नको उत्तर दिन सक्नेछ ।’ आसन र भासण बिनाको नौलो कार्यक्रम त्यसै त बेलायतमा पहिलोपटक आयोजना भएको नेपाली कविता कन्सर्ट । अझ द्धन्द्धका पीडित अनाथ बालबालिकाको सहयोगका लागि । त्यसमाथि बेलायतमा सञ्चालन हुने नेपाली कार्यक्रमहरुको परम्परागत ढर्राबाट पृथक, आसन र भाषण शुन्य । पुर्णत कवितामय बनेको कार्यक्रमलाई यस्तै विभिन्न कोणहरुबाट सहभागीले फरक र नौलो भन्दै सकारात्मक रुपमा लिए ।

कार्यक्रममा मन्तव्य मात्र एउटा थियो, मुख्य अतिथी राजदूत डा दुर्गाबहादुर सुवेदीको । त्यसक्रममा राजदूत डा सुवेदीले नेपाली भाषा र कवितासाहित्यको आदिकालदेखि विभिन्न कालखण्डमा हुंदै आएको विकास र प्रगतिबारे संक्षेपमा निकै चाखलाग्दो जानकारी प्रस्तुत गरे । लेखनाथ पौडेल, बालकृष्ण समदेखि लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल हुंदै आधुनिक कविहरुसम्म आइपुग्दा कसरी नेपाली कविताको विकास हुंदै आयो भन्नेबारे राजदूत डा सुवेदीले जानकारीमुलक मन्तव्य राखेका थिए । कार्यक्रमको सुरुआतमा कुनै आसन ग्रहणको कार्यक्रम पनि राखिएको थिएन ।

कविता वाचनको पूरै कार्यक्रम सकिएपछि आयोजक संस्थाका अध्यक्ष मिलन घिमिरेले संिक्षप्तमा धन्यवाद मन्तव्य राखेका थिए । कविता कन्सर्टका संयोजक रामशरण सिंखडा र आयोजक समितिका सदस्य समिरनाथ प्याकुरेलले निकै आकर्षक र छिटो छरितो रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

सामन्यता नेपाली संघसंस्थाका कार्यक्रमहरुमा पुगेर घण्टौंसम्म चल्ने भासण र आसनको कार्यक्रमबाट वाक्कदिक्क हुने गरेका सहभागीहरुले यो कार्यक्रमबाट भने फरक अनुभव गर्न पाए । समय मात्र बर्बाद गर्ने अनावश्यक औपचारिकता र भाषणबाजीहरुभन्दा जुन उद्धेश्य हो त्यसैमा केन्द्रित कार्यक्रम निकै प्रभावकारी हुने भन्दै कन्सर्टका आयोजकले नौलो र सकारात्मक ट्रेण्ड सुरु गरेको प्रतिक्रिया सहभागीले दिएका छन्