रौतहट, ८ भदौ । दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको रौतहटको गौर नगरपालिकामा प्रदर्शनकारीले आज अपराह्न गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजना मृत्यु भएको छ । निषेधाज्ञा तोड्दै गौर नगरपालिकामा प्रदर्शनमा उत्रिएको समूहमा प्रहरीले गोली चलाउँदा मठिया गाविस बस्ने २० वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । उहाँका अनुसार हाल सदरमुकाम गौरलगायत अन्य क्षेत्रको अवस्था सामान्य रहेको छ । जिल्ला सुरक्षा समितिको बैठकले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी पाँचजना भन्दा बढी एकै स्थानमा भेला गर्न प्रतिबन्ध लगाएको भए पनि गौर नगरपालिकाको कविर चोकमा १५० भन्दा बढी आन्दोलनकारी भेला भई प्रदर्शनमा उत्रिएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् ।
त्यहाँ रहेका प्रदर्शनकारीहरु सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गर्दै अघि बढ्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । पेटमा गोली लागी घाइते भएका ठाकुरलाई गौर अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगन्ज पठाइएको छ । यस जिल्लालाई दङ्गाक्षेत्र घोषणा गरिए पनि बिहानैदेखि सुनसान रहेको गौरमा अपराह्नपछि आन्दोलनकारी जम्मा हुन थालेका थिए । यहाँका पसल बिहानैदेखि खुलेका छैनन् । बिहानैदेखि सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा तनावग्रस्त रहँदै आएको गौरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति र लगातारको गस्तीले सर्वसाधारण घरबाट निस्किएका छैनन् ।
प्रहरीले गोली लागेर गौरमा एकको मृत्यु






