बेँसीसहर, ३ असार । कृषिमन्त्री हरिबोल गजुरेलले मधेसवादी दलले भने जस्तो संविधान पुनर्लेखनको माग सरकारले पूरा गर्न नसक्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल लमजुङले बेँसीसहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले मधेसवादी दलको माग पूरा गर्ने नाममा देश संविधानविहीन बनाउन नहुने धारणा राख्नु भयो । कतिपय राजनीतिक माग संविधान संशोधनका माध्यमबाट पूरा गर्न सकिने भए पनि संविधान पुनर्लेखनको काम भने गर्न नसकिने मन्त्री गजुरेलको भनाइ थियो । फरक प्रशङ्गमा मन्त्री गजुरेलले कृषिमा विश्वमा अभ्यास गरिएका आधुनिक सोचलाई नेपालमा पनि लागू गरिनुपर्ने विचार राख्नुभयोे । कृषिलाई नयाँ स्वरुपमा विकास गर्न त्यसमा आधुनिकरण, औद्योगीकरण र यान्त्रिकीकरण गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।
मन्त्री गजुरेलले युवालाई विदेश पलायन हुनबाट रोक्न कृषिउपज उत्पादनमा प्रोत्साहन गरिने बताउँदै किसानलाई बिनाधितो ऋण र अनुदानको व्यवस्था गरिने र कृषिको विकास भएमात्रै देशमा आर्थिक समृद्धि आउने बताउनुभयो ।






