लन्डन- विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदूतावासको संयुक्त आयोजनामा सङ्गीतज्ञ अम्बर गुरुङप्रति श्रद्धाञ्जलि दिइयो ।
कार्यक्रममा गुरुङद्वारा सङ्गीतबद्ध राष्ट्रगान र उहाँकै स्वर र सङ्गीत रहेका देशभक्तिपूर्ण गीत बजाइएको थियो । त्यसै गरी १२ कविले गुरुङमा समर्पण गरी लेखिएका कविता तथा मुक्तक वाचन गर्नुभयो । गायक थिर थापा मगरले गुरुङद्वारा सङ्गीतबद्ध ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ र ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ गीत गाउनुभएको थियो ।
प्रा सुमाया राई, डा चन्द्रबहादुर गुरुङ, विजय हितान, भोजबहादुर बराल, राजेन्द्र क्षेत्री, कर्म पहाडी शेर्पा, क्षेत्रकला राई, सइन्द्र थापा, दीप गिरी, निश्चल दाहाल, शैन्द्र थापा, शङ्कर दाहाललगायतले सिर्जना वाचनका साथै श्रद्धाञ्जलि मन्तव्य राख्नुभयो भने टेकबहादुर राजेशले गुरुङको जीवनीबारे बोल्नुभयो ।
साहित्य महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाको अध्यक्षतामा सम्पन्न सभामा कावा राजदूत तेजबहादुर क्षेत्री र एनआरएन युरोपका संयोजक कुल आचार्य लगायतको सहभागिता थियो । महासङ्घका १७ मुलुकमा २४ शाखा छन् । यही असार २९ गते भानुजयन्तीमा यसको नयाँ नेतृत्व चयन हुँदैछ ।






